टोखा-छहरे सुरुङमार्ग र चक्रपथको काम अगाडि बढाउने दुई देशबीच सहमति
वि.सं.२०८० असोज ९ मंगलवार ११:०४
1.5K
shares
काठमाडौं: नेपाल र चीनबीच टोखा–छहरे सुरुङमार्ग र काठमाडौंको चक्रपथको दोस्रो चरणको काम सुरु गर्ने सहमति भएको छ ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेपश्चात जारी गरेको १३ बुँदे संयुक्त वक्तव्यमा पूर्वधार विकास, जलविद्युत र अन्तरदेशीय प्रसारणलाइन निर्माण गर्ने सहमति भएको उल्लेख छ। यो अन्तरदेशीय प्रसारणलाइनअन्तर्गत नेपालतर्फको चिलिमे हबमा तिब्बतको जिलोङबाट विद्युत् प्रसारलाइन जोडिने छ ।
संयुक्त वक्तव्यमा चीनले नेपाललाई प्रस्ताव गरेको ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई)लाई नेपालले समर्थन गर्ने उल्लेख छ । यसैगरी संयुक्त वक्तव्यमा किमोथान्का र ओलङचुङगोलामा बन्दरगाह खोल्ने सहमति भएको छ ।
नेपालको आवश्यकतालाई मध्यनजर गर्दै अरनिको राजमार्ग मर्मतसम्भार आयोजनाको चौथो चरणको काम सुरु र स्याफ्रुबेसी–रसुवागढी राजमार्गको मर्मतको काम चाँडो सुरु गर्न चिनियाँ पक्ष तयार भएको छ । जिलोङ/केरुङ-काठमाडौं क्रस-बोर्डर रेलमार्गको सम्भाव्यता अध्ययनको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्दै चीन-नेपाल रेलवे सहयोगसम्बन्धी आठौं कार्य बैठक यथाशीघ्र आयोजना गर्ने विज्ञप्तिमा उल्लेख छ । चिनियाँ पक्षले नेपालका रेलवे व्यवसायीलाई तालिम दिन सहयोग गर्ने जनाइएको छ ।
यसैगरी दुई देशका नागरिक उड्डयन प्राधिकरणबीच भएको सहमति अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भई सञ्चालनमा आएकोले चीनबाट पोखरा उडान गर्ने सहमति भएको छ। हवाई मार्गहरू पुन: सुरु गर्दा व्यापार र आर्थिक अन्तर्क्रिया र जनता-बीचमा सहजीकरण गर्न सहज हुने वक्तव्यमा उल्लेख छ ।
यस्तो छ संयुक्त वक्तव्य…
वि.सं.२०८० असोज ९ मंगलवार ११:०४



















