पोखरा विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइँदै

वि.सं.२०७९ माघ २ सोमवार ११:०३

कास्की: पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ ।
पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौँमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्फत पठाउने तयारी गरिएको छ । जहाजमा सवार ७२ जनामध्ये हालसम्म ६६ जनाको शव सङ्कलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।
सेती नदीको अप्ठेरो खोचमा विमान दुर्घटना भएको र रातको समय भएकाले उद्धारमा कठिनाइ भएसँगै आइतबार राति स्थगित उद्धार आज बिहानैदेखि सुरु गर्न लागिएको छ ।
काठमाडौंबाट पोखरा जाँदै गरेको यती एअरलाइन्सको विमान हिजो बिहान पुरानो पोखरा विमानस्थल नजिकैको सेती खोंचमा दुर्घटना भएको हो । प्रत्यक्षदर्शीका अनुसार दुर्घटना हुनुअघि विमान अनियन्त्रित भएको थियो । आकाशबाटै उल्टोपाल्टो हुँदै सेती डिलमा बजारिन पुगेको थियो ।
६८ जना यात्रु र ४ जना चालक दलका सदस्य गरी ७२ जना सवार विमान दुर्घटना भएपछि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेका थिए ।
विमान सेती नदीको गहिरो खोंचमा खसेकाले उद्धार कार्य निकै सकसपूर्ण बनेको थियो । उद्धारमा खटिएका सुरक्षाकर्मीका अनुसार हिजो साँझसम्म ६६ जनाको शव फेला परेको छ भने बाँकी ६ जनाको खोजी कार्य जारी छ ।
दुर्घटनामा ज्यान गुमाएर पहिचान खुल्नेमा पर्वतको कुश्मा -१ का १० वर्षका रियान पौडेल, पोखरा १३ मियाँपाटनका सदाकत अलिमियाँ, पोखरा ७ की लक्ष्मी पौडेल, पर्वत कुश्मा-९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेल, उनकी ११ वर्षकी छोरी प्रसिद्धी, पर्वत मोदी १ का ३९ वर्षका विजयकुमार गुरुङ, त्यही ठाउँकी रचना काफ्ले पौडेल, पोखरा २२ का रक्की गुरुङ छन् ।
पोखरा ११ बस्ने ३७ वर्षीय पत्रकार त्रिभुवन पौडेल, पोखरा १३, काहुँडाँडाका २७ वर्षका निशान्त आचार्य, पोखरा १७ घर भई अहिले बालाजु बस्ने संगीता शाही, पोखरा ४ का डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवाकर रहेका छन् ।
रूपन्देही शंकर ८ का डा. गणेश थापा, काठमाडौँकी नतु परियार, रीता परियार, हरि परियार, पोखरा ८ की एसमिन गुरुङ, पोखराको बुद्धचोकका पूजन राना, बुटवल मुर्गिया घर भएकी एअर होस्टेज सृजना हुन्चिङ, कावासोती ६ का ३५ वर्षका मोहनप्रकाश श्रेष्ठ, पोखराको छोरेपाटनकी जीवनकला गुरुङ, कोरियन नागरिक यु क्युघुल, रसियन नागरिक जुरिज लेगिन र एलेनको पहिचान खुलेको प्रहरीले जनाएको छ ।
पहिचान खुलेका शव जिम्मा लगाउनका लागि आफन्तलाई बोलाइएको छ । बिहानैदेखि पोखराको मौसम प्रतिकूल भइरहेका कारण पनि उद्धारका कठिनाइ भएको छ ।

वि.सं.२०७९ माघ २ सोमवार ११:०३