खाडी मुलुकबाट ५० हजार नेपालीलाई तत्काल देश फर्काउन नेपाल सरकारलाई दवाव
वि.सं.२०७७ वैशाख २ मंगलवार ०९:२२
1.3K
shares
काठमाडौं: विभिन्न मुलुकमा बैदेशिक रोजगारका लागि कामदारका रुपमा गएका नेपाली नागरिकहरुमध्ये तत्काल लगभग ५० हजारलाई स्वदेश फर्काउनुपर्ने नेपाल सरकारलाई दवाव परेको छ ।
रोजगारदाता खाडी मुलुकहरुले दवाव दिएपछि हजारौं नेपालीहरुलाई स्वदेश एकसाथ कसरी नेपाल फर्काउने भन्नेबारे नेपाल सरकार अप्ठेरोमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारदाता मुलुकका समकक्षीहरुसँग एकपछि अर्को गर्दै पटक पटक टेलिफोन संवाद गरेर आफ्ना नागरिकहरुको सुरक्षाका लागि अनुरोध गर्दै आएका भएपनि रोजगारदाता खाडी मुलुकहरुले आफ्नो देशमा कुनै कम्पनीहरु चल्न नसकेकोले वेरोजगार भएका कामदारहरु पाल्न नसक्ने भन्दै आफ्ना नागरिकहरुलाई फिर्ता लैजान नेपाल सरकारलाई दवाव दिएका हुन् ।
दवावपछि परराष्ट मन्त्री प्रदीप ज्ञवाली र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले आआफ्ना समकक्षीसँग नेपाली कामदारहरुको जीवन सुरक्षाका लागि कुराकानी गर्दै आएका छन् । उनीहरुले नेपाली नागरिकहरु कोरोनाका कारण संक्रमित भए आफ्ना देशका नागरिक सरह नै औषधि उपचारको व्यबस्था मिलाउने आश्वासन पनि दिएका छन् ।
परराष्ट मन्त्रालय स्रोतका अनुसार, कुवेत, यूएईगायतका देशहरु जहाँ लाखौं नेपाली कामदारहरु छन् उनीहरुले त्यहाँका नेपाली दूतावासमार्फत नेपाली नागरिकहरु फिर्ता लैजान दवाव दिइरहेका छन् । पछिल्लो तथ्यांक अनुसार, तत्कालै ५० हजार जतिलाई भने उद्धार नै गरेर ल्याउनुपर्ने देखिएको परराष्ट स्रोतले बतायो । यीमध्ये ७ देखि १० हजारलाई कुवेतबाट तत्कालै उद्धार गर्नु पर्ने अवस्था छ ।
कोरोनाको कहरले संसारमै आतंक मच्चाई रहेको बेला देशभित्र हुने नागरिक र बाहिर हुनेको फरक फरक समस्या छन् । अहिले धेरै नेपाली युवा मध्यपूर्व र खाडी राष्ट्रमा कार्यरत छन । नेपाल सरकारले प्राथमिकताका आधारमा ती युवालाई ल्याउने रणनीति बनाउनु पर्ने अबस्था आइलागेको छ ।
वि.सं.२०७७ वैशाख २ मंगलवार ०९:२२



















