साग महिला फुटबलको फाईनल आज, भारतलाई हराउँदै नेपाललाई घरेलु मैदानमा स्वर्ण जित्ने अवसर
वि.सं.२०७६ मंसिर २३ सोमवार ०७:४१
999
shares
कास्की: १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत स्वर्ण पदकका लागि नेपाली महिला फुटबल टोलीले आज फाइनलमा भारतविरुद्ध खेल्दैछ । समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग १-० ले पराजित भएको थियो ।
पछिल्लो समय नेपाल र भारतबीच निकै प्रतिस्पर्धात्मक खेल हुँदै आएको छ । नेपाली टोलीलाई पोखरामा पुन: एकपटक इतिहास रच्ने अवसर छ । भारतलाई हराउन सके नेपालले महिला फुटबलमा पहिलो अन्तर्राष्ट्रिय उपाधि भित्र्याउने छ । यसका लागि टोली पनि तयार छ । पोखरेली समर्थकमाझ साग स्वर्ण दिलाउन फरवार्ड सावित्रा भण्डारीमाथि निकै अपेक्षा राखिएको छ ।
महिला तथा पुरुष दुवैको उमेर समूहदेखि राष्ट्रिय टोलीसम्मको स्पर्धाको नतिजामा नेपालमाथि भारत हाबी हुँदै आएपनि यी दुई देशबीचको खेल जहिले पनि रोचक र स्पर्धापूर्ण रहने गर्दछ । त्यसैले पनि जारी सागमा महिला फुटबलको स्वर्ण पदकका लागि आज आयोजक नेपाल र भारतबीच पोखरा रङ्गशालामा हुने खेल अत्यन्त प्रतिस्पर्धापूर्ण रहने भनाइ दुवै टोलीका प्रशिक्षकको छ ।
जारी सागमा नेपालले समूह चरणमा माल्दिभ्सलाई ३-० तथा श्रीलङ्कालाई १-० गोल अन्तरले पराजित गरेको थियो भने भारतसँग १-० को अन्तरले पराजित भएको थियो । भारतले श्रीलङ्कालाई ६-०, माल्दिभ्सलाई ५-० र नेपाललाई १-० गोलले पराजित गरी समूह विजेताको रुपमा फाइनल प्रवेश गरेको हो । नेपाल र भारत हालसम्म अन्तर्राष्ट्रिय महिला फुटबलमा छ पटक भिडेका छन् । नेपालसँगको सबै स्पर्धामा भारत हाबी हुँदै आएपनि नेपाली टोलीले उनीहरुलाई कडा टक्कर दिँदै आएको छ ।
महिला फुटबलमा नेपालले भारतलाई एकपटक मात्र पराजित गर्न सफल भएको छ । गत वर्ष भारतमै आयोजना भएको हिरो गोल्डकप फुटबलमा नेपालले भारतलाई उसकै भूमिमा २–१ गोल अन्तरले पराजित गरेको थियो ।
वि.सं.२०७६ मंसिर २३ सोमवार ०७:४१




















