एपिएफ साफ महिला क्लब च्याम्पियनसिपको फाईनल नजिक
वि.सं.२०८२ मंसिर २८ आइतवार १७:१३
1.5K
shares
काठमाडौं: दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा नेपाल सशस्त्र प्रहरी बल, नेपाल (एपिएफ) फाइनल नजिक पुगेको छ । आज भएको पाकिस्तानको कराँची सिटी एफसीलाई १-० गोल अन्तरले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो ।
यो दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० गोल अन्तरले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
कराँची सिटी एफसी बिरुद्ध आज रश्मिकुमारी घिसिङको गोलमा एपिएफ विजयी भएको थियो । खेलको ५१औं मिनेटमा रश्मिले गरेको गोल खेलको निर्णायक बन्यो । रेनुका नगरकोटेको क्रसमा रश्मिले नजिकबाट हेड गरेकी हुन् । ६५औं मिनेटमा रश्मिले गोलको अर्को मौका चुकाइन् । वान भर्सेस वान प्रहारमा बल पोस्ट नजिकबाट बाहिर गएको थियो । ७०औं मिनेटमा रश्मिले अर्को प्रयास पनि खेर गएको थियो । आजै साँझ भारतको इस्ट बंगाल र नासिरबीच खेल हुनेछ ।






दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक आयोजना गरेको च्याम्पियनसिपमा ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता छ । सिंगल राउन्ड रोबिनपछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।
च्याम्पियनसिपको विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले ५ हजार अमेरिकी डलर तथा बाँकी तीन टोलीले समान २ हजार अमरिकी डलर प्राप्त गर्नेछन् । एन्फाले प्रतियोगिताको लागि दुई खालको टिकटदर कायम गरेको छ । साधारणतर्फ ३०० र भीआईपीतर्फ ५०० को टिकट मूल्य राखिएको छ ।
वि.सं.२०८२ मंसिर २८ आइतवार १७:१३



















