नेपाल र युएईबीचको खेल आज, खेल ४:१५ बजे सुरु हुने

वि.सं.२०८२ असोज २६ आइतवार १०:३८
321
shares
काठमाडौं: आईसीसी टी-२० विश्वकप एसिया तथा ईस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सका खेल आजदेखि सुरु हुँदैछ । नेपालले आज युनाइटेड अरब इमिरेट्स युएईविरुद्ध प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समयानुसार अपराह्न ४:१५ बजे सुरु हुनेछ ।
सुपर सिक्सको आफ्नो पहिलो खेलमै नेपालले चिरपरिचित प्रतिद्वन्द्वी युएईसँग प्रतिस्पर्धा गर्दैछ । दुबै टोलीले पछिल्लो सयम टेस्ट राष्ट्रहरूलाई हराइसकेका छन् । त्यसैले यो खेल २ अंकको लडाइँ मात्र नभई आत्मविश्वासको खेल हुनेछ ।
प्रतियोगितामा नेपाल समूह ‘बी’का दुवै खेल जित्दै सुपर-६ मा आएको हो । नेपालले समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो । नेपालले दोस्रो खेलमा जापानविरुद्ध ५ विकेटको जित निकालेको थियो । युएईविरुद्ध प्रतिस्पर्धामा उत्रदा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ ।
युएई पनि समूह चरणका दुवै खेलमा जितसहित सुपर-६ मा आएको हो । समूह ‘ए’मा युएईले कतारलाई ७ विकेटले हराएको थियो । युएईले मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो ।
नेपालले सुपर–६ मा रहेका ५ मध्ये ४ टिमसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले प्रतिस्पर्धा गर्ने टिममा युएईसँगै कतार, ओमान र समाओ छन् । नेपालले आफ्नै समूहबाट सुपर–६ मा आएको जापानविरुद्ध भने प्रतिस्पर्धा गर्ने छैन ।
अब यो चरणमा हुने १२ खेलपछि शीर्ष ३ स्थान हासिल गर्ने टोलीले २०२६ फेब्रुअरी र मार्चमा भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान बनाउने छन् । नेपालले आफ्नो दोस्रो खेलमा सोमबार कतारसँग खेल्ने छ । बुधबार ओमानसँग खेलेपछि सुपर सिक्सको अन्तिम खेलमा शुक्रबार सामोआसँग खेल्नेछ ।

वि.सं.२०८२ असोज २६ आइतवार १०:३८