जीवित बन्धकको सूचीमा नेपालका विपिन जोशी

वि.सं.२०८२ असोज २६ आइतवार १०:५९
327
shares
काठमाडौं: गाजामा हमासले नियन्त्रणमा लिएका जीवित बन्धकको सूचीमा नेपालका विपिन जोशीको नाम समेटिएको सार्वजनिक भएको छ । हमास र इजरायलबीचको युद्धविराम योजनाको पहिलो चरण अन्तर्गत सोमबार बन्धक रिहा गर्नु अगाडि सार्वजनिक सूचीमा विपिनको नाम समेटिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम वाशिङ्टन पोस्टले जीवित बन्धकको सूचीमा विपिन रहेको सार्वजनिक गरेको हो । यसअघि सिएनएसनले सार्वजनिक गरेको सूचीमा विपिन अज्ञात रहेको उल्लेख थियो । वाशिङ्टन पोस्टसँगै टाइम्स अफ इजरायल, एपीसहित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेको सूचीमा भने विपिन जीवित रहेको उल्लेख छ ।
जीवित रहेको विश्वास गरिएका बन्धक सबै पुरुष हुन्, जसमा एक जनाबाहेक सबै २० र ३० को उमेर समूहका छन् । महिला, बालबालिका र ५० वर्षमाथिका पुरुषलाई अघिल्ला युद्धविराम सम्झौताअनुसार मुक्त गरिसकिएको छ ।
विपिन जोशी, एक नेपाली विद्यार्थी थिए । दक्षिण इजरायलको अलुमिम किबुत्जमा खेतमा काम गर्दै गर्दा अपहरणमा परेका थिए । उनको परिवारले हालै इजरायली सेनाले गाजाबाट फेला पारेको भिडियोमा विपिनलाई जीवित देखिएको पुष्टि गरेको छ ।
यो भिडियो सन् २०२३ नोभेम्बरमा खिचिएको अनुमान छ । बन्धक परिवारको फोरमले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘भिडियोलाई देखेपछि हामीलाई अझ दृढ विश्वास भएको छ कि विपिन जीवित छन् ।’ इजरायली अधिकारीले यसअघि उनको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका थिए ।

वि.सं.२०८२ असोज २६ आइतवार १०:५९