त्रिवि क्रिकेट मैदानमा निर्माणको काम धमाधम हुँदै, फ्लडलाइट र १० हजार सिट क्षमताको प्यारापिट निर्माण हुँदै

वि.सं.२०८२ वैशाख २५ बिहीवार ११:०३
1.4K
shares
काठमाडौं: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणको कामहरु धमाधम हुँदैछ । तोकिएको समयमा काम नसकिने भएपछि प्रधानमन्त्री केपी ओलीले सहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिलाई स्पष्टीकरण सोधेका थिए । साथै उनले थप दुई महिनामा प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम पूरा गर्न सम्बद्ध पक्षलाई निर्देशन पनि दिएका थिए ।
प्रधानमन्त्रीको निर्देशनसँगै क्रिकेट मैदानमा तीव्र गतिमा काम भइरहेको छ । असार अन्तिम सातासम्म काम सकिने निर्माण कम्पनीले प्रतिबद्धता गरेको छ । फ्लडलाइट र १० हजार सिट क्षमताको प्यारापिट बनाउने काम भइरहेको छ । प्यारापिट बनाउन बिकेओआई-केसीडिसी-बिजी जेभीले ४३ करोड ७७ लाखमा र फ्लडलाइट जडानका लागि विशन-ईश्वरी जेभीले ४२ करोड १९ लाखमा ठेक्का पाएका छन् । दुवै काम यही वैशाख २४ गतेभित्र सक्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो ।
यसअघि वैशाख ४ गते उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले त्रिवि क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिट र फ्लडलाइट जडान कार्यको स्थलगत अनुगमन गरी तोकिएको समयभित्र निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरेका थिए । त्यसपछि उनले केही दिन मन्त्रालयबाटै निर्माण कार्यको अनुगमन पनि गरेका थिए ।

वि.सं.२०८२ वैशाख २५ बिहीवार ११:०३