लेबनानमाथि म्यानमारको सहज जित

वि.सं.२०८१ फागुन ५ सोमवार १७:०२
486
shares
काठमाडौं: लेबनानलाई ३-१ गोल अन्तरले हराउँदै म्यानमारले फराकिलो जितसहित इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न पहिलो खेलमा म्यानमारले जित निकालेको हो ।
जितसँगै म्यानमारले तीन अंक जोडेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ५६औं मिनेटमा म्यानमारले सुरुवाती अग्रता लियो । विन थइनगितुनले गोलले पेनाल्टी बक्सबाट प्रहार गरेको बलले सिधैं जाली चुम्यो । ६०औं मिनेटमा लेबनान पनि खेलमा फर्कियो । लेबनानका लागि लयला इस्कान्डरले गोल गरिन् । उनलाई रोक्न म्यानमारकी गोलकिपर म्यो म्याम्या आफ्नो स्थान छाडेर पेनाल्टी बक्सबाहिर आइपुगेकी थिइन् । तर, उनले रोक्न सकिनन् ।
खेलको ७२औं मिनेटमा म्यानमारले पुन: अग्रता लियो । स्वेय यी तुनले हेडरमार्फत बललाई जाली चुमाइन् । त्यसको तीन मिनेटपछि नै म्याट नोए बिनाले अर्को गोल थपिन् । उनले रिबाउन्डमा गोल गरेकी हुन् । सोमबार बेलुका नै घरेलु टोली नेपालले किर्गिस्तानसँग खेल्नेछ ।

वि.सं.२०८१ फागुन ५ सोमवार १७:०२