कीर्गिस्तानमाथि नेपालको संघर्षपूर्ण जित

वि.सं.२०८१ फागुन ५ सोमवार २२:३०
696
shares
काठमाडौं: नेपालले कीर्गिस्तान विरूद्ध १-० गोल अन्तरको कठिन जित निकाल्दै फोर नेसन्स वुमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भएको आजको खेलमा तुलनात्मक रुपमा कमजोर देखिएको कीर्गिस्तान विरुद्ध नेपालले खेलमा दबाब बनाएपनि संघर्षपूर्ण जित निकालेको हो ।
६ वर्षअघि घरेलु मैदान कीर्गिस्तानमा ८-२ गोल अन्तरको सानदार जित निकालेको नेपाललाई किर्गिस्तानले ६ वर्षपछि नेपालको घरेलु मैदान दशरथ रंगशालमै टक्कर दियो । कमजोर मानिएको प्रतिद्वन्द्वी किर्गिस्तानसँग नेपालले १-० को नतिजामै चित्त बुझायो ।
नेपालको जितमा विमला चौधरीले खेलको १२औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेलमा नेपालले धेरै अवसरहरु सिर्जना गरेपनि गोल हुन सकेन । खेलको ४३औं मिनेटमा रश्मी कुमारी घिसिङको प्रहार क्रस बारमा लागेर फर्कियो । रिबाउन्डमा सविताको प्रहार फेरि क्रसबारमा लाग्यो । त्यसको रिबाउन्डमा रेखा पौडेलको प्रहारलाई किर्गिस्तानकी डिफेन्डरले क्लियर गरिदिइन् ।
खेलको दोस्रो हाफको सुरुवातमा डिफेन्डर विमला विकेको ठाउँमा स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ मैदान प्रवेश गरिन् । संघर्षपूर्ण खेलको ५३औं मिनेटमा रेखाको क्रसमा विमलाले हातले गोल गरेपछि उनी पहेंलो कार्ड खान पुगिन् । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसक्दा विमलाको गोल नै निर्णायक बनेर नेपाल १-० को जित निकाल्दै ३ अंक जोडेको छ । खेलमा प्रीति प्लेयर अफ दि म्याच घोषित भइन् ।
अब नेपालले फागुन ८ गते बिहीबार लेबनानसँग खेल्नेछ । सोही दिन किर्गिस्तानले म्यानमारलाई चुनौती प्रस्तुत गर्नेछ । राउन्ड रोबिनपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । नेपालमा पहिलोपटक आयोजना भएको चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेल जिते पनि बाँकी खेलमा नेपालले निकै मिहिनेत गर्नुपर्ने देखिएको छ ।

वि.सं.२०८१ फागुन ५ सोमवार २२:३०