साफ महिला च्याम्पियनसिप आजदेखि, भारत र पाकिस्तान भिड्ने
वि.सं.२०८१ कात्तिक १ बिहीवार ०७:५८
1.7K
shares
काठमाडौं: साफ महिला च्याम्पियनसिप २०२४ आजदेखि दशरथ रंगशालामा सुरु हुँदैछ । उदघाटन खेलमा भारत र पाकिस्तानबीच प्रतिष्पर्धा हुँदैछ ।
कीर्तिमान पाँच पटकको च्याम्पियन भारत दक्षिण एसियाली फुटबलमा सँधै बलियो मानिन्छ । महिला फुटबलमा पाकिस्तान खासै बलियो छैन । तर, भारतविरुद्ध पाकिस्तानको खेलले सँधै ध्यान खिच्ने गरेको छ । भारत यो साफमा फिफा वरीयतामा सबैभन्दा माथिको टिम हो ।
आयोजक नेपालले शुक्रबार भुटानसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । नेपाल यो पटकको दाबेदार मध्ये एक पनि टोली हो । यसअघिका ६ संस्करणमा नेपालले एउटामा बाहेक सबै फाइनल खेलेको छ । बिडम्बना पाँच पटकसम्म फाइनलमा हारेको नेपालसँग तितो अनुभव छ ।
साफको ६ संस्करण सकिंदा मात्र दुई राष्ट्रले उपाधि जितेका छन् । भारतले ५ र बंगलादेशले १ पटक उपाधि उचालेको छ । यो पटक नेपाल सहित अन्य ५ राष्ट्रलाई पहिलो पटक उपाधि जित्ने अवसर छ । यो पटक नेपाल सहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश गरी ७ राष्ट्रको सहभागिता रहेको छ ।
राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल कात्तिक १४ गते हुनेछ । च्याम्पियनसिपको सातौं संस्करणमध्ये नेपालले लगातार तेस्रो पटक आयोजनाको मौका पाएको छ ।
वि.सं.२०८१ कात्तिक १ बिहीवार ०७:५८



















