सेमिफाइनलमा नेपालले भुटानसँग र भारतले बंगलादेशसँग खेल्ने
वि.सं.२०८१ भदौ ७ शुक्रवार १७:४८
2.3K
shares
काठमाडौं: घरेलु मैदानमा जारी साफ यू-२० फुटबल च्याम्पियनसीपको सेमिफाइनमा नेपालले भुटानसँग खेल्ने भएको छ । एन्फा कम्पेलक्समा आज भएको खेलमा भारतले माल्दिभलाई हराएपछि नेपालको सेमिफाइनल प्रतिद्वन्द्वी तय भएको हो ।
समूह ‘ए’मा नेपालले श्रीलंकालाई १–० र बंगलादेशलाई २–१ ले पराजित गर्दै ६ अंक जोड्यो । बंगलादेशले भने श्रीलंकालाई २–० ले हराउन सफल भयो । साबिक उपविजेता बंगलादेश समूह चरणमा तीन अंकमै खुम्चियो । अर्को टोली श्रीलंका भने अंकविहीन हुँदै घर फर्किसकेको छ ।
समूह ‘बी’ मा भने भारत विजेता बन्यो । भारत ६ अंकसहित शीर्ष स्थानमा रह्यो । भुटान तीन अंकसहित समूह उपविजेता बन्यो । माल्दिभ्सले भने अंकविहीन रह्यो । भारतलाई सेमिफाइनल पुग्न बराबरीको नतिजा नै पर्याप्त थियो । तर, माल्दिभ्सलाई भने गर या मरको स्थितिमा मैदान उत्रिएको थियो ।
भारतले अब सेमिफाइनलमा साबिक उपविजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । अघिल्लो संस्करणमा बंगलादेशलाई पराजित गर्दै भारतले उपाधि जितेको थियो । यसअघि नेपालले समुहको दुबै खेल जितेर विजेताको रुपमा अन्तिम ४ मा स्थान बनाएको थियो । नेपालको समूहबाट उपविजेता बनेको बंगलादेशले भारतसँग खेल्नेछ ।
वि.सं.२०८१ भदौ ७ शुक्रवार १७:४८




















