दोस्रो रामेछाप कप फुटसललाई एमाले युवा नेता रत्न गौतमको ५० हजार सहयोग
वि.सं.२०८० चैत ९ शुक्रवार १९:०८
1.1K
shares
काठमाडौं: ‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता-२०८०’ का लागि एमालेका युवा नेता एवम् समाजसेवी रत्न गौतमले ५० हजार सहयोग गरेका छन् । रामेछाप-काठमाडौं पत्रकार समाजले शनिबार र आइतबार आयोजना गरेको प्रतियोगिताका लागि युवा व्यवसायी एवम एमालेका नेता गौतमले ५० हजार आर्थिक सहयोग गरेको संस्थाका महासचिव प्रज्वल पौडेलले जानकारी दिए । उनका अनुसार जिल्ला कमिटी सदस्य दीपेन्द्रकुमार कार्कीले ३० हजार आर्थिक सहयोग गरेका छन् ।
रामेछापबाट काठमाडौं उपत्यकामा आएर विभिन्न पेशा/व्यवसायमा संलग्न तथा संघ संस्थामा आबद्ध जिल्लाबासीहरुलाई लक्षित गरी आयोजित प्रतियोगिता लिगकम नकआउटका आधारमा खेलाइने छ । पौडेलका अनुसार कपअन स्पोर्टस् सेन्टर बालुवाखानी कपनमा हुने प्रतियोगितामा व्यक्तिगत एवं संस्थागत रुपमा रामेछाप जिल्लाबासीले सहभागिता जनाउनेछन् । प्रतियोगितामा ८ जनासम्म खेलाडी सहभागी हुन पाउनेछन् ।
प्रतियोगितामा विजेता प्रथम, द्वितीय र तृतीयलाई क्रमश: ५० हजार, ३० हजार र २० हजार नगदसहित शिल्ड पुरस्कार रहेको टिम दर्ता संयोजक एवम् रामेछाप-पत्रकार समाजका सदस्य घनश्याम श्रेष्ठले जानकारी दिए । उनले भने,‘रामेछाप जिल्लाबाट काठमाडौं उत्पयकामा रहेका व्यक्ति तथा संस्थालाई लक्षित गरी फुटसल प्रतियोगिताको आयोजना गरिएको हो । यसपटक पुरस्कार राशी पनि दोब्बर बनाएका छौं ।’
पहिलो रामेछाप कप फुटसल प्रतियोगितामा लिखु भुजी युवा क्लब रामेछापलाई ट्राइब्रेकरमा २–० गोल अन्तरले पराजित गर्दै अनेरास्ववियुले उपाधि उचालेको थियो । तेस्रो स्थानका लागि भएको खेलमा महाकाली युवा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै डाइनामिक युथ तेस्रो भएको थियो । गत संस्करणमा विजेतालाई प्रथम, द्वितीय र तृतीयलाई क्रमश : २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार राखिएको थियो । अघिल्लो संस्करणमा जिल्लाका २७ टोली सहभागी भएका थिए ।
रामेछाप–काठमाडौं पत्रकार समाज रामेछापबाट काठमाडौं उपत्यकामा आएर पत्रकारिता कर्ममा सक्रिय पत्रकारहरुको साझा संस्था हो । संस्था जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता रहेको छ ।
वि.सं.२०८० चैत ९ शुक्रवार १९:०८




















