बलियो प्रतिद्वन्द्वी बहराइनसँग भिड्दै नेपाल

वि.सं.२०८० चैत ८ बिहीवार ०९:०७
1.6K
shares
काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले आज फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटको दोस्रो चरणमा घरेलु टोली बहराइनसँग खेल्दैछ । नेपाल पहिलो चरणमा लाओसलाई समग्रमा १–० ले हराउँदै दोस्रो चरणमा पुगेको थियो ।
समूह ‘एच’ मा दुई खेल खेलिसके पनि नेपाल अंकविहीन छ । समूहमा नेपाल, बहराइनसहित यमन र संयुक्त अरब इमिरेट्स (युएई) छन् । नेपालले यसअघि युएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको थियो । बहराइनले ३ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । युएईसँग २–० ले पराजित बहराइनले यमनमाथि २–० को जित निकालेको थियो ।
नेपाल र बहराइनबीच सिनियर लेभलमा हालसम्म कुनै खेल भएको छैन । तसर्थ आजको खेल दुबै टिमको लागि नयाँ अनुभव पनि हुनेछ । प्रतियोगितामा नेपाली खेलाडीको हौसला बढाउनको लागि आज बहराइनमा रहेका नेपालीलाई निःशुल्क खेल हेर्ने व्यवस्थापन गरिएको एन्फाले जनाएको छ ।
मलेसियामा एउटा मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली बहराइन पुगेको थियो । टोलीसँग अनावश्यक पदाधिकारीलाई मलेसिया र बहराइन पठाएपछि अखिल नेपाल फुटबल संघ विवादमा परेको छ । मलेसियामा १० जना र राष्ट्रिय खेलकुद परिषदले स्वीकृती नदिएपनि एन्फाले ८ जनालाई बहराइन पठाएको छ ।

वि.सं.२०८० चैत ८ बिहीवार ०९:०७