राउण्ड रोबिनको अन्तिम खेलमा जापानमाथि नेपालको जित

वि.सं.२०८० मंसिर २ शनिवार ११:०१

काठमाडौं: नेपालले चार देश सम्मिलित टि-२० आई महिला सिरिज अन्तर्गत राउण्ड रोबिनको अन्तिम खेलमा जापानमाथि ६७ रनको जित निकालेको छ । नेपालले प्रस्तुत गरेको ११४ रनको लक्ष्य पछ्याएको जापान निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै ४६ रनमा समेटियो ।
नेपालका लागि स्पिनर संगीता राईले ५ विकेट लिइन् । जापानका लागि मेग ओगाबाले २९ बलमा २ चौकासहित १७ रन बनाइन् । यस्तै सेइका सुमिले १६ बलमा १ चौका सहित १३ रन बनाइन् । अन्य कुनै व्याटरले भने दोहोरो अङ्क समेत छुन सकेनन् ।
नेपालका लागि अश्मिना कर्माचार्यले ४ ओभरमा १० रन दिँदै सर्वाधिक ४ विकट लिइन् । यस्तै संगीता राइले ३ ओभरमा मात्र ५ रन दिँदै ३ विकट लिइन् । यस्तै पूजा महतोको नाममा २ विकट रह्यो । उनले ३ ओभरमा १ मेडन ओभर सहित २ रन मात्र दिएको थिइन् । डेब्यु खेल खेलिरहेकी सोनी पाख्रिनले ४ ओभरमा ८ रन मात्र दिइन् तर कुनै विकट लिन सकिनन् । यस्तै सुमन विष्ट र रुबिना क्षत्री पनि विकट विहिन रहे ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकट गुमाउँदै ११३ रन बनायो । नेपालका लागि पूर्व कप्तान रुविना क्षेत्रीले ३२ बलमा ५ चौकासहित सर्वाधिक ३८ रन बनाइन् । चार नम्बरमा ब्याटिङ गर्न आएकी रुबिना अन्तिम ओभरमा आउट भइन् ।
नेपाली ओपनरहरुले भने सुस्त सुरुवात दिएका थिए । पूजा महतोले २९ बलमा १ चौकासहित १३ रन बनाइन् । यस्तै अर्को ओपनर सीता राना मगरले २० बलमा १ चौकासहित ९ रन बनाइन् । कप्तान इन्दु वर्माले ३१ बलमा २ चौका सहित २७ रनको पारी खेलिन् । यस्तै काजल श्रेष्ठ ७ बलमा ३ चौकासहित १५ रन बनाउँदै अविजित रहिन्। अश्मिना कर्माचार्य १ रनमा नट आउट रहिन् ।
जापानका लागि एलेना कुसुडा-नाइर्नले ४ ओभरमा २४ रन खर्चिदै सर्वाधिक २ विकट लिइन् । यस्तै मेग ओगावाले ३ ओभरमा १ विकट लिँदै २१ रन दिइन् । आयुमी फुजिकावाले ४ ओभरमा १९ रन लिँदै १ विकट नै लिइन् ।
नेपाल पहिलो दुई खेलमा पराजित हुँदै सिरिजको फाइनल खेलमा दौडबाट बाहिरिसकेको थियो । नेपाल ३ खेलमा १ जित सहित तेस्रो स्थानमा रहन सफल भएको छ । नेपाल पहिलो खेलमा तान्जानिया विरुद्ध २७ रनले पराजित हुँदा दोस्रो खेलमा भने घरेलु टोली हङकङ विरुद्ध ९ विकेटले हार बेहोरेको थियो ।

वि.सं.२०८० मंसिर २ शनिवार ११:०१