युएईलाई ७ विकेटले हराउँदै नेपालको विजयी सुरुवात
वि.सं.२०८० कात्तिक १ बुधवार १६:४७
2K
shares
काठमाडौं: नेपालले त्रिकोणात्मक टि-२० आई सिरिजमा युएईलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा जितको लागि १४१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालको जितमा कप्तान रोहित पौडेल ४० बलमा ५ चौकासहित ५१ रनमा नट आउट रहे । रोहितले मोहम्मद जवादुल्लाहलाई अन्तिम बलमा चौका हान्दै अर्धशतक पूरा गरेका थिए । दीपेन्द्रसिंह ऐरी २३ बलमा ३ चौका र १ छक्कासहित ३४ रनमा नट आउट रहे ।
चौथो विकेटका लागि दीपेन्द्र र रोहितले ९३ रनको अविजित साझेदारी गरेका थिए । नेपालको सुरुवात भने त्यति राम्रो हुन सकेन । ओपनर कुशल भुर्तेल १४ बलमा १ चौकासहित १४ रनमा आउट भए । स्पिनर निलान्श केश्वानीको बलमा कुशल अली नासिरबाट क्याच आउट हुन पुगेका थिए । कुशल मल्ल ९ बलमा २ चौकासहित ११ रनमा रन आउट भए ।
अली नासिरको बलमा आसिफ शेख मोहम्मद वासिमबाट मिडअनमा २३ रनमा आउट भए । आसिफले २७ बलमा २ चौका र १ छक्का प्रहार गरे । युएईका अली नासिर र निलान्श केश्वानीले एक एक विकेट लिए ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनाएको थियो । युएईका बासिल हामिदले ३८ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ५१ रन बनाए । त्यस्तै अलराउन्डर अली नासिरले ३० बलमा ३ चौका र १ छक्कासहित ३२ रनको योगदान दिएका थिए । कमजोर सुरुवात गरेपनि पाँचौं विकेटका लागि बासिल हमिद र अली नासिरले ५६ रनको साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफल तयार पारेका थिए ।
नेपाललाई तीव्र गतिका बलरले राम्रो सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरको अन्तिम बलमा पहिलो सफलता दिलाएका थिए । युएईका लागि डेब्यू खेल खेलेका ओपनर खालिद शाह ठूलो सटको धुनमा मिडअफमा कप्तान रोहित पौडेलबाट क्याच आउट हुन पुगेका थिए ।
करण केसीको चौथो ओभरको पहिलो बलमा एलिशान शराफु एज लागेर ६ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच आउट भए । तेस्रो विकेटका लागि आसिफ खान र मोहम्मद वासिमले २४ रनको साझेदारी गरेका थिए । गुलशन झाको सातौं ओभरको पहिलो बलमा लङअनमा सर्ट खेल्न चाहेका वासिम मिडविकेटमा कुशल भुर्तेलबाट १७ रनमा क्याच आउट भए । वासिमले १८ बलमा १ चौका र १ छक्का प्रहार गरे ।
गुलशनको नवौं ओभरको चौथो बलमा आसिफ खान प्वाइन्टमा सन्दीप जोराबाट क्याच आउट भए । उनले १२ बलमा २ चौकासहित १५ रन आउट भए । आसिफ र वासिम आउट भएपछि युएई समस्यामा परेको थियो ।
नेपालको जितमा करण केसीले ४ ओभरमा १९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । गुलशन झाले ३ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा २१ रन खर्चेर १ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट लिए । नेपालले दोस्रो खेल भोली हङकङसँग खेल्नेछ ।

वि.सं.२०८० कात्तिक १ बुधवार १६:४७


















