हाङझाउमा राष्ट्रपति सी जिनपिङले आज औपचारिक उद्घाटन गर्ने
वि.सं.२०८० असोज ६ शनिवार १०:२७
1.8K
shares
काठमाडौं: १९औँ संस्करणको एसियाली खेलकुद (एसियाड)को महाकुम्भ आजबाट औपचारिक रूपमा चीनको हाङझाउमा शुरु हुँदैछ । भव्य समारोहबीच हाङझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा साँझ राष्ट्रपति सी जिनपिङले उद्घाटन गर्ने कार्यक्रम छ ।
कोभिड–१९ का कारण एक वर्ष पछि हुन लागेको १९औँ एसियाडका लागि चीनको उत्तरी दक्षिणी शहर हाङझाउ दुलहीझैँ सिंगारिएको छ । दुई घण्टा चल्ने उद्घाटन समारोहमा ४५ देशका खेलाडी तथा पदाधिकारीले मार्चपास गर्नेछन् ।
असोज २१ गतेसम्म चल्ने प्रतियोगितामा एसियाका ४५ देशका १२ हजार ५०० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । विभिन्न ४० खेलका ४८१ इभेन्ट्समा प्रतिस्पर्धा हुदैछ । प्रतियोगिताका लागि भनेर आयोजकले ५४ खेल स्थल प्रयोगमा ल्याएको छ भने १० हजार क्षमताको भव्य एसियाली ग्राम पनि निर्माण गरिएको छ ।
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हाङझाउमा हुने एसियाडको उद्घाटन समारोहमा भाग लिन अमेरिकाबाट चीन जाँदैछन् । उद्घाटन समारोहमा हुने मार्चपासमा महिलामा उसुकी निमा घर्तीमगर र पुरुषमा तेक्वान्दोका वीरबहादुर महराले नेपालको झन्डा बोक्ने नेपाल ओलम्पिक कमिटीले जनाएको छ । दुवै खेलाडी दक्षिण एशियाली स्वर्णधारी हुन् ।
वि.सं.२०८० असोज ६ शनिवार १०:२७



















