उद्घाटन खेलमा बंगलादेश र भारत आमने सामने हुँदै, दोस्रो खेलमा नेपाल र पाकिस्तान भिड्ने
वि.सं.२०८० असोज ४ बिहीवार ०६:४५
काठमाडौं: साफ यू-१९ च्याम्पियनसिप आजदेखि काठमाडौंमा सुरु हुँदैछ । दशरथ रंगशालामा हुने उद्घाटन खेलमा दिउँसो साढे १ बजे बंगलादेश र भारत आमने–सामने हुनेछन् ।
नेपाल र पाकिस्तानको खेल साँझ साढे ५ बजे सुरु हुनेछ । समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । पाकिस्तानी टोली बुधबार मात्र काठमाडौं आइपुगेको छ । पाकिस्तान पहिलोपटक यो प्रतियोगितामा सहभागी हुन लागेको हो ।
यसअघि अन्डर–२० र अन्डर–१८ फर्म्याटमा भएका प्रतियोगितामा नेपाल र भारत समान दुई–दुईपटक च्याम्पियन बनेका छन् । नेपाल सन् २०१५ मा घरेलु मैदानमा भएको पहिलो संस्करण र २०१७ मा च्याम्पियन बनेको थियो ।
भारत पछिल्ला दुई संस्करणको विजेता हो । दुवैपटक नेपाल फाइनल पुग्न नसक्दा बंगलादेश उपविजेता बनेको थियो । यसपटक देशभरबाट छानिएका दुई सय खेलाडीमध्येबाट नेपालको टिम तयार पारिएको छ । साफका लागि बंगलादेश चार साताको अभ्यास गरेको छ । माल्दिभ्सले बाँकी टिमको तुलनामा व्यावसायिक खेलाडी ल्याएको छ । भुटानले पनि राम्रो तयारीका साथ नेपाल आएको बताएको छ ।
६ टोली सहभागी प्रतियोगितामा नेपाल रहेको समुहमा माल्दिभ्स र पाकिस्तान छन् । समूह बी मा भारत, बंगलादेश र भुटान रहेका छन् । समूहका शीर्ष २ टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।
साफ च्याम्पियनसिप खेल्न नेपालको अन्तिम टोलीको घोषणा भएको छ । यसअघि वैकल्पिक खेलाडीसहित २५ खेलाडी राखिएकामा प्रशिक्षक सुनील श्रेष्ठले बुधबार दुई खेलाडीलाई हटाउँदै नेपाली टोली घोषणा गरेका हुन् ।
वि.सं.२०८० असोज ४ बिहीवार ०६:४५