‘ए’ डिभिजन लिग अन्तर्गत आजबाट आठौं चरणका खेल हुँदै
वि.सं.२०७९ चैत २८ मंगलवार ०७:३१
काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आजबाट लिगको आठौं चरणका खेलहरु हुँदैछन् । जस अन्तर्गत आज दुई खेलहरु हुँदैछ ।
खेल एन्फा कम्प्लेक्स र च्यासल मैदानमा एक-एक खेल हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
जावलाखेल आज पाँचौं जितको योजनामा हुनेछ । जावलाखेल ७ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । जावलाखेल आर्मीलाई हराएर शीर्ष स्थानमा उक्लने योजनामा रहेको छ । आर्मी तेस्रो जितको खोजीमा हुनेछ । आर्मी ९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
यस्तै च्यासल मैदानमा साविक विजेता मछिन्द्र फुटबल क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र आज तेस्रो जित निकाल्ने योजनामा छ । मछिन्द्र ७ खेलमा ९ अंक जोडेर नवौं स्थानमा छ । यस्तै खुमलटार पनि तेस्रो जितको योजनामा छ । खुमलटार ७ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
तीन मैदानमा जारी यस सिजनको शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा भईरहेको छ । लिग यस पटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुँदैछ ।
यस पटकको लिगमा कुल १८२ खेलहरु हुनेछ । लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले टोलीले ३ लाख पाउने छन् ।
मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् ।
प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।
वि.सं.२०७९ चैत २८ मंगलवार ०७:३१