क्यानद्वारा सन्दीप लामिछानेको निलम्बन फुकुवा
वि.सं.२०७९ माघ १८ बुधवार ०७:४०
1.5K
shares
काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरेको छ ।
पोखरामा बसेको क्यान बोर्ड बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । लामिछानेको निलम्बन बैठकको मुख्य एजेन्डाको रुपमा रहेको थियो ।
एक नाबालिकलाई बलात्कारको आरोप लागेपछि क्यानले लामिछानेलाई गत भदौ २३ गते सन्दीपलाई निलम्बन गरेको थियो ।
लामिछाने विरुद्धको बलात्कार मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ । तर, गत पुस २८ गते उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । लामिछाने पुस १९ गते धरौटी बुझाएर थुनामुक्त भएका थिए ।
यता, लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालतमा मंगलबार निवेदन परेको छ ।
महान्यायाधिवक्ता कार्यालयले उच्च अदालतको आदेश बदरको माग गर्दै सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएको हो ।
एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।
लामिछाने विरुद्ध गत भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो । भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । लामिछाने गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।
वि.सं.२०७९ माघ १८ बुधवार ०७:४०




















