आइसिसी टि-२० विश्वकपको पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्डबीच प्रतिष्पर्धा हुँदै
वि.सं.२०७९ कात्तिक २३ बुधवार ११:४४
3.3K
shares
एजेन्सी: आइसिसी टि-२० विश्वकप २०२२ को पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । यी दुईबीचको खेल नेपाली समय अनुसार दिउँसो १:४५ मा सिड्नी क्रिकेट मैदानमा सुरु हुनेछ ।
पाकिस्तान तेस्रो र न्युजिल्यान्ड लगातार दोस्रो पटक फाइनलमा पुग्ने सोचमा हुनेछ । न्युजिल्यान्ड सुपर १२ को समूह ए को विजेता र पाकिस्तान सुपर १२ को समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेलेका हुन् । दोस्रो सेमिफाइनलमा शुक्रबार भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । फाइनल आइतबार मेलबर्न क्रिकेट ग्राउन्डमा हुनेछ ।
न्युजिल्यान्डले सुपर १२ मा अष्ट्रेलियालाई ८९ रन, श्रीलंकालाई ६५ रन र आयरल्यान्डलाई ३५ रनले हराएको थियो । इंग्ल्यान्डसँग २० रनले पराजित हुँदा अफगानिस्तानसँग वर्षाको कारण अंक बाँडेको थियो ।
पाकिस्तान पहिलो खेलमा भारतसँग चार विकेटले पराजित भएको थियो । जिम्बावेसँग एक रनले स्तब्ध भएको पाकिस्तानले नेदरल्यान्ड्सलाई ६ विकेट, दक्षिण अफ्रिकालाई डकवर्थ लेविस पद्धतिको आधारमा ३३ रन र बंगलादेशलाई पाँच विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।
अन्तिम खेलमा दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग पराजित भएपछि पाकिस्तान सेमिफाइनलमा पुगेको हो । पाकिस्तान यस विश्वकपको सबैभन्दा भाग्यशाली टोली हो ।
पाकिस्तान २००९ को टि-२० विश्वकप च्याम्पियन टोली हो । सन् २००७ को फाइनलमा भारतसँग पराजित भएको थियो । न्युजिल्यान्ड गत वर्ष पहिलो पटक फाइनलमा पुग्दै अष्ट्रेलियासँग ८ विकेटले पराजित भएको थियो ।
हेड टु हेड :
यी दुई देशबीच कुल २८ खेल हुँदा पाकिस्तान १७ र न्युजिल्यान्ड ११ खेलमा विजयी भएका छन् । पछिल्ला पाँच खेलमा पाकिस्तान चार खेलमा विजयी भएको छ ।
वि.सं.२०७९ कात्तिक २३ बुधवार ११:४४




















