ईंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशको तेस्रो जित
वि.सं.२०७६ असार १० मंगलवार ०९:०६
873
sharesएजेन्सी: आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले तेस्रो जित निकालेको छ । साउथह्याम्पटनमा हिजो भएको खेलमा अफगानिस्तानलाई ६२ रनले पराजित गर्दै बंगलादेशले तेस्रो जित निकालेको हो ।
द रोजबल क्रिकेट मैदानमा बंगलादेशले दिएको २ सय ६३ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४७ ओभरमा अलआउट हुँदै दुई सय रनमा समेटियो । अफगानिस्तानका लागि शामीउल्लाह शिनवारीले अविजित रहदै सर्वाधिक ४९ रन बनाए । यस्तै कप्तान गुल्बादीन नाइबले ४७ रन जोडे । त्यस्तै रहमत साहले २४, नाजिब उल्लाहले २३ तथा अस्घर अफगानले २० रन बनाए । अफगानिस्तानविरुद्ध अलराउण्डर प्रदर्शन गरेका हसनले १० ओभरमा २९ रन खर्चेर ५ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६२ रन बनाएको थियो । बंगलादेशका लागि मुशफिकर रहिम र शकिब अल हसनले अर्धशतकीय इनिङ्स खेले । रहिमले ८३ रन जोड्दा हसनले ५१ रन बनाए । यस्तै तामिम इकबालले ३६, मोसाडेक होसेनले ३५ तथा ममुदउल्लाहले २७ रन जोडे । अफगानिस्तानका मुजिब उर रहमानले ३ विकेट लिए । गुल्बादीन नाइबले २ विकेट लिए ।
जितसंगै बंगलादेशले शीर्ष चारमा पुग्दै सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ । तेस्रो जितसंगै पाँचौ स्थानमा उक्लिएको बंगलादेशले ७ खेलबाट ७ अंक जोडेको छ ।
वि.सं.२०७६ असार १० मंगलवार ०९:०६