‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज र एनआरटीले बराबरी खेल्दै अंक बाँडे
वि.सं.२०७८ मंसिर १३ सोमवार १६:०७
2.2K
shares
काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज र न्युरोड टिम एनआरटीले बराबरी खेल्दै अंक बाँडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेल दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।
खेलको ४३ औं मिनेटमा एनआरटीले गोलको अवसर गुमायो । स्टेफेन बिनोङको क्रसमा रन्जन विष्ट ट्याप इनमा गोल गर्न असफल रहे ।
ब्रिगेडका दिनेश राईले ५०औं मिनेटमा पेनाल्टी क्षेत्रबाट प्रहार गरेको सशक्त प्रहार क्रसबार भन्दा केहि माथिबाट बाहिरिएको थियो ।
खेलको ६५ औं मिनेटमा ब्रिगेडका मिडफिल्डर दिनेश राईले सिक्स यार्ड बक्सको एजबाट प्रहार गरेको बल एनआरटीका गोलकिपर अजित प्रजापतिले पन्च गर्दै बचाएका थिए ।
ब्रिगेडका कप्तान रोशन राना मगरले ७३ औं मिनेटमा पेनाल्टी एरियाको ठिक बाहिरबाट प्रहार गरेको बलले पोस्टको दिशा लिन सकेन ।
खेलको अतिरिक्त समयमा ब्रिगेडका रुडी जुनियरले पेनाल्टी एरियाबाट प्रहार गरेको बल एनआरटीका गोलकिपर अजितले उत्कृष्ट बचाउ गरे ।
बराबरीसँगै ब्रिगेडले २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा ब्रिगेडले विभागीय टिम एपीएफलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो ।
एनआरटीको यो पहिलो १ अंक हो । पहिलो खेलमा एनआरटी साविक विजेता मछिन्द्र एफसीसँग २-१ गोल अन्तरले पराजित भएको थियो ।
खेलमा ब्रिगेडका शिशिर लेखी म्यान अफ दि म्याच चुनिए ।
वि.सं.२०७८ मंसिर १३ सोमवार १६:०७




















