स्पेनिस क्लब बार्सिलोनाको शानदार जित, लिभरपुल ३-० गोल अन्तरले पराजित
वि.सं.२०७६ वैशाख १९ बिहीवार ०७:५९
1.1K
sharesएजेन्सी: च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोनाले ईग्लिस क्लब लिभरपुललाई पराजित गरेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा बार्सिलोनाले लिभरपुललाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
क्याम्प नाउमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे भने लुइस स्वारेजले एक गोल गरे । बार्सिलोनाले खेलको २६औं मिनेटमा स्वारेजको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफमा १-० ले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल थप्यो । जसमा कप्तान मेस्सी नायक बने ।
खेलको ७५ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ८२औं मिनेटमा मेस्सीले फ्रिकिकबाट गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाए । लिभरपुलविरुद्धको दुई गोलसंगै मेस्सीले बार्सिलोनाका लागि ६ सयौं गोल पुरा गरेका छन् । यस्तै लिभरपुलविरुद्ध तीन गोल गरेसंगै बार्सिलोनाले च्याम्पियन्स लिगमा ५ सय गोल पुरा गरेको छ ।
घरेलु टोलीविरुद्ध बल पोजिसनमा पकड जमाएपनि लिभरपुलले गोल गर्न सकेन । लिभरपुलले पाएको केहि गोलको अवसर समेत खेर फालेको थियो । पहिलो लेगको जितसंगै बार्सिलोनाले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब दुई टोलीबीचको दोस्रो लेग लिभरपुलको मैदान एनफिल्डमा हुनेछ ।
वि.सं.२०७६ वैशाख १९ बिहीवार ०७:५९