जर्मन कपमा होल्सटिनसँग पेनाल्टी सुटआउटमा बायर्न पराजित
वि.सं.२०७७ माघ १ बिहीवार १६:३७
1.6K
shares
एजेन्सी: साविक विजेता बायर्न म्युनिख डिएफबी पोकल (जर्मन कप) को दोस्रो चरणबाटै बाहिरिएको छ ।
बुधवार राति भएको खेलमा दोस्रो श्रेणीको क्लब होल्सटिन किइलसँग पेनाल्टी सुटआउटमा ६-५ ले पराजित हुँदै बायर्न बाहिरिएको हो ।
निर्धारित र अतिरिक्त समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
पेनाल्टी सुटआउटमा बायर्नका रोबर्ट लेवान्डोस्की, जोसुवा किमिच, थोमस मुलर, डेभिड अलवा र डुगलस कोस्टाले गोल गरे ।
मार्क रोकाले गोल गर्न सकेनन् ।
होल्सटिनका हाउके वाल, एहमेट अर्सलान, जानी सेर्रा, जाई सुङ सिल, निकलस हउप्टमन र फिन बार्टेल्सले गोल गरे ।
पेनाल्टी अघि बायर्नले खेलको १४ औं मिनेटमा सर्ज जिनाब्रीको गोलबाट अग्रता बनाएको थियो ।
खेलको ३७ औं मिनेटमा फिन बार्टेल्सले गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ४८ औं मिनेटमा लोरी सानेले गोल गर्दै बायर्नलाई २-१ को अग्रता दिलाए ।
खेलको ९० औं मिनेटमा होल्सटिनका हउके वालले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याएका थिए ।
त्यसपछि थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा दुबै टोलीबाट गोल निस्केन र खेल टाइब्रेकरमा पुगेको थियो ।
जर्मन कपमा बायर्न सर्वाधिक उपाधि जित्ने टिम हो ।
बायर्नले २० पटक जर्मन कपको उपाधि जितिसकेको छ ।
यो पनि पढ्नु होस्
वि.सं.२०७७ माघ १ बिहीवार १६:३७



















