स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित
वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५
156
shares
विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ प्राप्त गरेका छन् । स्पेनको ओभिएदोस्थित क्याम्पोआमर थिएटरमा आयोजित विशेष समारोहमा राजकुमारी लियोनोरले राजा फिलिप छैटौं र रानी लेटिजियाको उपस्थितिमा उनलाई पुरस्कार प्रदान गरेकी हुन् । समारोहमा उपस्थित दर्शकले मेस्सीलाई भव्य ताली र ओभेसनसहित स्वागत गरेका थिए । उनलाई हेर्न सयौं मानिस थिएटरबाहिर भेला भएका थिए ।
सन् १९८७ मा अर्जेन्टिनाको रोसारियोमा जन्मिएका मेस्सी फुटबल इतिहासका सबैभन्दा सफल खेलाडीमध्ये एक हुन् । उनले चार पटक यूईएफए च्याम्पियन्स लिग, एक पटक विश्वकप र दुई पटक कोपा अमेरिकाको उपाधि जितेका छन् । विश्व फुटबलमा उनले व्यक्तिगत तथा सामूहिक रूपमा थुप्रै कीर्तिमान बनाएका छन् । तर यस पुरस्कारका लागि उनको खेल उपलब्धि मात्र आधार बनेको होइन । निर्णायक मण्डलले मेस्सीको सामाजिक सेवामा पुऱ्याएको योगदानलाई पनि सम्मानको महत्त्वपूर्ण आधार मानेको छ । मेस्सीले स्थापना गरेको ‘लियो मेस्सी फाउन्डेसन’ मार्फत जोखिमपूर्ण परिस्थितिमा रहेका बालबालिकाको शिक्षा र स्वास्थ्यमा पहुँच विस्तार गर्न सहयोग गर्दै आएका छन् । उनी संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) का सद्भावना दूतसमेत हुन् ।
उनले बालबालिकाको जीवनस्तर सुधार गर्न र उनीहरूका लागि शिक्षा तथा स्वास्थ्यसम्बन्धी अवसर बढाउन विभिन्न अभियानमा योगदान दिएका छन् । यसका अतिरिक्त, गत गर्मीयाममा लागेको डढेलोबाट क्षति पुगेको म्याड्रिडको पहाडी क्षेत्रमा पुनःस्थापना कार्यका लागि पनि उनले आर्थिक सहयोग गरेको ‘मार्का’ले उल्लेख गरेको छ ।
प्रिन्सेस अफ अस्टुरियस पुरस्कार कला, विज्ञान, संस्कृति र खेलकुदलगायत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुऱ्याउने व्यक्तित्व तथा संस्थालाई प्रदान गरिन्छ । यस पुरस्कारले खेलकुदमा सफलता हासिल गर्नुका साथै समाजमा सकारात्मक प्रभाव पार्ने व्यक्तिहरूको योगदानलाई पनि मान्यता दिने गरेको छ । पुरस्कार समारोहपछि मेस्सी अस्टुरियस विमानस्थलबाट अमेरिकाको न्युयोर्क जाने कार्यक्रम रहेको थियो । उनी त्यहाँबाट आफ्नो क्लब इन्टर मियामीका लागि मेजर लिग सकर (एमएलएस) को खेलमा सहभागी हुन जाने जनाइएको छ ।
वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५



















