इंङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित
वि.सं.२०७७ असार २२ सोमवार १२:०१
1.1K
shares
एजेन्सीः इंङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति लिभरपुलले एस्टन भिल्लालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुललाई जित दिलाउन साडियो माने र कुर्टिस जोन्सले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७१औं मिनेटमा मानेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ९० औं मिनेटमा जोन्सले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।
जितसँगै शीर्ष स्थानको लिभरपुलले ३३ खेलबाट ८९ अंक जोडेको छ । लिभरपुलले लिगको उपाधि यस अघि नै जितिसकेको छ । यो जितपछि लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीविरुद्ध २३ अंकको अग्रता समेत बनाएको छ ।
प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा न्युकासल र वेष्ट ह्यामले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।
वि.सं.२०७७ असार २२ सोमवार १२:०१




















