ईङ्ग्लिश प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामसँग चेल्सी ३–२ गोल अन्तरले पराजित
वि.सं.२०७७ असार १८ बिहीवार ०९:१४
1.8K
shares
एजेन्सीः ईङ्ग्लिश प्रिमियर लिग फुटबलमा लण्डन क्लब चेल्सीले हार ब्यहोरेको छ । बुधबार राति भएको खेलमा चेल्सी वेस्ट ह्यामसँग ३–२ गोल अन्तरले पराजित भएको हो । ब्राजिली स्टार विलियनमले दुई गोल गरेपनि लण्डन क्लबको हार टार्न सकेनन् । उनैले ४२औं मिनेटमा पेनाल्टीमा चेल्सीलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफको ईन्जुरी समयमा टोमस सौसेकले घरेलु टोलीका लागि बराबरी गोल फर्काए । माईकेल एन्टोनियोले ५१औं मिनेटमा वेस्ट ह्यामलाई २–१ को अग्रता दिलाए । पुन विलियनले ब्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
खेल सकिन एक मिनेट अघि एन्ड्री यरमालेन्कोले वेस्ट ह्यामका लागि विजयी गोल गरे । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले काउन्टरमा गोल गर्दै चेल्सीलाई निराश बनाए । चौथो स्थानमा रहेर ५४ अंक जोडेर बसेको चेल्सीलाई म्यान्चेष्टर युनाईटेड र उल्भ्सले ५२ अंक सहित पछ्याईरहेका छन् । वेस्टह्याम भने ३० अंक सहित तालिकाको १६औं स्थानमा छ ।
यस्तै, शीर्ष चारको क्लब लेस्टर सिटीले एभर्टनसँग पराजित भएको छ । एभर्टनको घरेलु मैदानमा लेस्टर २–१ ले पराजित भयो । घरेलु टोलीका रिचर्डसन र जी सिगर्डसनले लगातार गोल गर्दै एभर्टनलाई २–० को अग्रता दिलाएका थिए । लेस्टरका इहनाचोले ५१औं मिनेटमा एक गोल फर्काएपनि टोलीको हार टार्न सकेन । लेस्टर ५५ अंक सहित तालिकाको तेस्रो र एभर्टन ४४ अंक सहित ११ औं स्थानमा छ ।
यस्तै, अर्को खेलमा वर्नेमाउथ घरेलु मैदानमा न्युक्यासल युनाईटेडसँग ४–१ ले पराजित भयो । न्युक्यासलका लागि ड्वाई गेल, सीन लान्गस्टाफ, मिगुएल अल्मिरान, भालेन्टिनो लजारोले गोल गरे । वर्नेमाउथका लागि दान गोसलिङ्गले एक गोल फर्काए । पछिल्लो नतिजासंगै वर्नेमाउथमाथि रेलिगेशन जोनको सम्भावना थप चुनौतीपूर्ण बनेको छ । न्युक्यासलले आफुलाई रेलिगेशन जोनबाट बाहिर राख्ने कोशिश गरेको छ । न्युक्यासल ४२ अंक सहित तालिकाको १३ औं स्थानमा छ । वर्नेमाउथ २७ अंक सहित तालिकाको पुछारदेखि दोस्रोमा छ ।
वि.सं.२०७७ असार १८ बिहीवार ०९:१४




















