लियोनेल मेस्सी, लुइस सुआरेज र एन्टोइन ग्रिजमन प्रशिक्षणमा
वि.सं.२०७७ जेठ २१ बुधवार ०८:४३
1.3K
shares
एजेन्सीः बार्सिलोनाका नवनियुक्त प्रशिक्षक किके सेटिनले पहिलोपटक आफ्नो पूर्ण टोलीसँग प्रशिक्षण गर्न पाएका छन् । चोटका कारण बाहिर रहेका फरवार्ड लुइस सुआरेज समेत प्रशिक्षणमा समावेश भएका छन् । उरुग्वेका फरवार्ड सुआरेज जनवरीको दोस्रो साता स्पेनिस सुपरकपको सेमिफाइनल खेलमा एटलेटिको म्याड्रिडविरुद्ध खेल्दा घाइते भएका थिए ।
सुआरेजले चोट बोकेपछि शल्यक्रिया नै गर्नुपर्दा लामो समय मैदानबाहिर रहने भएका थिए । उनले सिजन गुमाउने पक्का भएको थियो । तर कोरोनाका कारण लिग नै स्थगित हुँदा सुआरेज ठिक भएर मैदान फर्किएका छन् । उनले शल्यक्रियापछि चार महिना पूर्ण रुपमा विश्राम गरेका थिए ।
बार्सिलोनाले जुन १३ मा ला लिगा सुचारु भएपछि सुआरेजसँग लिओनेल मेस्सी र एन्टोइन ग्रिजमन पनि साथमा उपलब्ध हुनेछन् । ग्रिजमनको आगमनपछि विविध कारणले यी तीन खेलाडीले सँगै खेल्न पाएका छैनन् । सुरुवातमा मेस्सी घाइते हुनु र पछिल्लो समय सुआरेज उपलब्ध नहुनु यसको मुख्य कारण रहेको छ ।
जारी सिजनमा मेस्सी, सुआरेज र ग्रिजमनले १३ खेलमा सँगै खेलेका छन् । सुआरेज लामो समय मैदानबाहिर रहेपनि लिगमा यस सिजन ११ गोल गरेका छन् । मेस्सी १९ गोलसहित लिगको सर्वाधिक गोलकर्ता सुचिमा शीर्षस्थानमा छन् । ग्रिजमनले पनि जारी सिजन ८ गोल गरिसकेका छन् ।
वि.सं.२०७७ जेठ २१ बुधवार ०८:४३



















