एमडिएमएसमा दर्ता नभएका मोबाइल आजदेखि नचल्ने
वि.सं.२०८० कात्तिक २० सोमवार ०७:४६
काठमाडौं: नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)’ प्रणाली पुर्ण रुपमा लागु गर्दैछ ।
यो सिष्टम लागु गरेसँगै आजदेखि दर्ता नभएका मोबाइल नचल्ने भएको छ । अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्यसाथ यो प्रणाली आजदेखि लागु गर्ने भएको हो । प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयनमा ल्याउने जनाएको छ ।
गत वर्ष असोज १ देखि परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको यो प्रणालीलाई प्राधिकरणले एक वर्षपछि पुर्ण रुपमा लागु गर्न लागेको हो । अबदेखि हरेक दिन दर्ता नभएका मोबाइलको नेटवर्क लक हुँदै जाने छन् ।
प्राधिकरणले एमडिएमएस लागु गर्नुपूर्व कात्तिक ४ गते सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र दर्ता गरिसक्न जानकारी गराएको थियो । त्यसअघि पनि प्राधिकरणले बारम्बार एमडिएमएस प्रणालीमा मोबाइल दर्ता गराउन सार्वजनिक सूचना जारी गरेको थियो ।
प्राधिकरणका अनुसार गत वर्ष असोजयता नेपाल भित्रिएका करिब २० लाख व्यक्तिगत मोबाइल सेट यो प्रणालीमा दर्ता छैनन् । एमडिएमएस प्रणालीका लागि प्राधिकरणले सञ्चालनमा ल्याएको mdms.nta.gov.np मा गएर मोबाइल दर्ता भए/नभएको हेर्न सकिन्छ । व्यक्तिगत रूपमा विदेशबाट ल्याइएका मोबाइल पनि यसैमार्फत दर्ता गर्न सकिन्छ ।
व्यक्तिगत मोबाइल दर्ताका लागि भन्सार घोषणासहितको प्रज्ञापनपत्र अपलोड गर्नुपर्ने छ । प्राधिकरणले आफ्नो दर्ता प्रक्रियालाई पूर्ण रूपमा अनलाइन र निःशुल्क गरेको छ ।
वि.सं.२०८० कात्तिक २० सोमवार ०७:४६