सशस्त्रको सशक्त रणनीति
वि.सं.२०८२ मंसिर २६ शुक्रवार १५:१९
6.2K
shares
काठमाडौं: राजश्व चुहावट नियन्त्रण, सीमा, औद्योगिक र महत्वपूर्ण व्यक्तिको सुरक्षालगायत आन्तरिक शान्ति-सुव्यवस्थामा आफ्नो जिम्मेवारी अब्बल तरिकाले निर्वाह गर्दै राष्ट्रको महत्वपूर्ण सुरक्षा संगठनका रुपमा आफूलाई स्थापित गरेको सशस्त्र प्रहरी बल, नेपालले २०८२ साल फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षितरुपमा सम्पन्न गर्न आफ्नो परिचालनसम्बन्धी नीति बनाएको छ । यहाँनेर २०८२ साल भदौ २३ र २४ गते जेन-जी विद्रोहका क्रममा लुटिएका, खोसिएका र हराएका हतियारलाई कारण देखाई निर्वाचनप्रति आशंका व्यक्त गर्नेहरुले पहिलो संविधानसभाको निर्वाचन सशस्त्र प्रहरी बल नेपालकै सुरक्षामा सम्पन्न भएको स्मरण गर्न जरुरी छ ।
सशस्त्र प्रहरी बल, नेपालका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाका अनुसार सबै निर्वाचन क्षेत्रहरुमा (अति संवेदनशील, संवेदनशील र सामान्य) सशस्त्र प्रहरी बल, नेपाल तोकिएको जिम्मेवारीमा परिचालन गर्ने र निर्वाचन सुरक्षार्थ सुरक्षाको दोस्रो घेरामा रही अन्य सुरक्षा निकायसँग समन्वयात्मकरुपमा परिचालन गर्नेलगायतका नीति तर्जुमा गरी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन नेपाल सरकारले भरपर्दो सुरक्षा व्यवस्था प्रदान गर्ने नीतिअनुरुप ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ अनुसार सशस्त्र प्रहरी बल, नेपालले तोकिएको जिम्मेवारी त्रुटीरहित ढंगबाट पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन उपलब्ध स्रोत र साधनको अधिकतम् प्रयोग गरी प्रभावकारी परिचालन गर्नका लागि ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सुरक्षा कार्यमा सशस्त्र प्रहरी बल, नेपालको परिचालन नीति’ तर्जुमा गरिएको हो ।
यसैगरी सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल, नेपालले सीमाबासीहरुको मन जित्ने गरी विभिन्न सामाजिक, धार्मिक-सांस्कृतिक, जनचेतनामूलकलगायतका अतिरिक्त कार्यहरु पनि गर्दै आइरहेको सशस्त्र प्रहरी बल, नेपालका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक थापा बताउँछन् । उनका अनुसार ७ वटै वाहिनीबाट यो आर्थिक वर्षमा सामाजिक कार्यक्रम ६ सय ३८, स्वास्थ्य शिविर ४९, सीपमूलक तालिम २५, निर्माण कार्य ६०, सीमा जोडिएका वडा अध्यक्षहरुसँगको अन्तर्क्रिया ४ सय ९, वृक्षरोपण ६४, भाषा प्रशिक्षण २, सामग्री वितरण १७, जनचेतनामूलक कार्यक्रम २ हजार ६ सय २, सीमा सहजीकरण समितिको बैठक १ हजार ९५ गरी ४ हजार ९ सय ६१ वटा कार्यक्रम सम्पन्न भएका छन् ।
त्यस्तै ‘सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रमको अवधारणा’, ‘सीमा सहजीकरण समिति गठनसम्बन्धी कार्यविधि, २०८०’ र ‘सीमा पैदल गस्ती परिचालनसम्बन्धी अवधारणापत्र, २०८०’ अनुसार ३ सय १० वटा हेल्प डेस्क स्थापना गरी सेवा प्रदान, पर्यटकलक्षित ८ वटा पर्यटक सहायता कक्षमार्फत् सेवा प्रदान गर्दै सीमा पैदल गस्ती २४ सै घण्टा सातै दिन परिचालन हुँदै आइरहेको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ । आर्थिक वर्ष २०८२/८३ मा नेपालतर्फबाट ५५ र भारत तर्फबाट ५ सय ४७ सीमा स्तम्भहरुको मर्मत गरिएको छ भने यही आर्थिक वर्षमा चोरी-पैठारीका वस्तु बरामद गरी सशस्त्र प्रहरी बल, नेपालले ९२ करोड १५ लाख २ हजार १ सय ४८ रुपैयाँ बराबरको राजश्व दाखिला गरेको छ ।

यसबीच विपद् व्यवस्थापनअन्तर्गत २०८२ साल कार्तिक ११ गतेदेखि १७ गतेसम्म हिमपातमा परेकाहरु दोलखा, गोरखा, म्याग्दी, मनाङ, मुस्ताङमा स्वदेशी ८ सय ३३ जना, विदेशी १ सय ४७ जनाको सकुशल उद्धार गरिएको त्यस्तै ९ जना घाइते, ४ जना मृत्यु र ५ जना वेपत्ताको सशस्त्र प्रहरी बल, नेपालले उद्धार गरेको सशस्त्र प्रहरी बल, नेपालका केन्द्रीय सह-प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । त्यसका निम्ति यी सबै जिल्लामा १ सय १३ जना पर्वतीय उद्धार तालिमप्राप्त सशस्त्र प्रहरी बलका जनशक्ति परिचालन गरिएको थियो । भदौ २३ र २४ गतेको जेन-जी विद्रोहको एक सन्दर्भमा सह-प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक थापाले भने- ‘त्यतिबेला १६ हजारभन्दा बढी सशस्त्र प्रहरी बल परिचालन भएको र मानवीय क्षति कम होस् भनेर कम बल प्रयोग गरिएको हो ।’
आउँदो माघ ९ गते आफ्नो स्थापनाको रजत महोत्सव (२५औँ वार्षिकोत्सव) मनाउने तयारीमा रहेको सशस्त्र प्रहरी बल, नेपाल स्थापनाकालदेखि नै अब्बल सुरक्षाफौजका रुपमा स्थापित छ । संगठनका हरेक सदस्यको सुख-दुःखलाई नजिकबाट नियाल्ने सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई कमाण्डरका रुपमा पाएको सशस्त्र प्रहरी बल, नेपालको स्थापनापश्चात् द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्न खेलेको भूमिका, हाईवेमा दशैं-तिहारमा हुने चोरी-डकैतीका घटना निर्मूल पार्न पनि उत्तिकै महत्वपूर्ण योगदान पुर्याएको छ । संगठनका सबै सदस्यको मनोबल उच्च पार्न सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्पूर्ण बाहिनी, गण र गुल्मपतिहरुलाई तत्-तत् स्थानमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीको सुख-दुःख बुझ्न बारम्बार सम्झाउँदै पनि आएका छन्, जसले गर्दा उनीहरुले उच्च मनोबलका साथ कार्यक्षेत्रमा कार्य सम्पादन गर्न सकुन् ।
वि.सं.२०८२ मंसिर २६ शुक्रवार १५:१९




















