दुर्गा प्रसाईंको आन्दोलन तीनकुनेमा केन्द्रित, काठमाडौं प्रशासनले भने कार्यक्रम गर्न अनुमति नदिएको जानकारी
वि.सं.२०८० मंसिर ८ शुक्रवार ०९:४१
2K
shares
काठमाडौं: मेडिकल ब्यावसायी दुर्गा प्रसाईंको नेतृत्वमा आज पनि काठमाडौंमा प्रदर्शन हुने भएको छ । आज तीनकुनेलाई केन्द्र बनाएर आन्दोलनलाई जारी राख्ने प्रसाईंले जनाएका छन् ।
तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने प्रसाईँको नागरिक बचाऊ अभियान अन्तर्गत आजदेखि घोषणा गरिएको आन्दोलनको थप कार्यक्रमप्रति ध्यानाकर्षण भएको जनाएको छ । प्रसाईँले हिजो साँझ पत्रकार सम्मेलन गरी आजदेखि हरेक दिन तीनकुनेमा भेला भएर सिंहदरबार र राजनीतिक दलका नेताका घर लक्षित ‘श्रीलंका स्टाइल’ मा आन्दोलन गर्ने उद्घोष गरेका थिए । उक्त ठाउँमा कार्यक्रमका लागि अनुमति नदिएको प्रशासनले प्रष्ट्याएको छ ।
काठमाडौं प्रशासनका सहायक प्रजिअ रवीन्द्रप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा उत्तेजक, अराजक, हिंसात्मक, ध्वंशात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिँदै सार्वजनिक सम्पत्तिमा क्षति पुयाउने र शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेको भन्दै शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानूनविपरीतका गतिविधि गरेमा कानूनबमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।
हिजो बल्खुमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा १३ जना घाइते भएको जनाउँदै प्रसाईंले भनेका छन्, ‘सबै मिसन ८४ भनेर लागेका छन् तर हामी मिसन ८५ होइन हामी मिसन टुडेमा छौँ र हामीले यो ब्यबस्था परिवर्तन गरिछाड्ने छौँ ।’ उनको नेतृत्वमा हिजो भएको प्रदर्शनमा हजारौं मानिसहरु बल्खुमा उपस्थित भएर समर्थन जनाएका थिए ।
वि.सं.२०८० मंसिर ८ शुक्रवार ०९:४१



















