नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि
वि.सं.२०८० साउन १७ बुधवार ०७:२२
1.4K
shares
काठमाडौं: सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । बैठकमा महासचिव देवप्रसाद गुरुङले बैठकको एजेन्डा तथा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेस गर्ने तालिका छ ।
काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा विहान ११ बजे सुरु हुने बैठकमा ३८५ केन्द्रीय सदस्य, १९८ वैकल्पिक केन्द्रीय सदस्य, प्रदेश समितिका १०० पदाधिकारी तथा विभिन्न आयोगका ७५ जना गरी ७५८ जना सहभागी हुने पार्टीले जनाएको छ ।
पाँच दिनसम्म चल्ने बैठकमा सबै केन्द्रीय सदस्यहरूले अध्यक्षको प्रतिवेदनमा धारणा राख्न पाउनेछन् । बैठकको प्रत्यक्ष प्रसारण अध्यक्ष दाहालको फेसबुक पेजबाट गर्ने निर्णय गरेको पदाधिकारी बैठकले गरेको छ । यो निर्णयप्रति कतिपय केन्द्रीय सदस्यहरूले आपत्ति जनाएपछि आज बिहान बस्ने स्थायी समिति बैठकले अन्तिम निर्णय लिने पार्टीले जनाएको छ ।
१३ महिनापछि बस्न लागेको बैठकमा नेताहरूको जिम्मेवारी बाँडफाँट, सङ्गठन विस्तारका लागि तीन महिने अभियान घोषणा, विधान तथा विशेष महाधिवेशन, सरकार र सदनलगायत विषयमा छलफल हुने जनाइएको छ ।
वि.सं.२०८० साउन १७ बुधवार ०७:२२




















