कतारको दोहामा तालिबान र अमेरिकी अधिकारीबीच वार्ता
वि.सं.२०८० साउन १७ बुधवार ०७:५१
1.3K
shares
एजेन्सी: दुई वर्षअघि अफगानिस्तानको सत्ता कब्जा गरेयता तालिबान र अमेरिकी अधिकारीहरुबीच कतारको राजधानी दोहामा पहिलो पटक औपचारिक वार्ता भएको छ ।
यही आइतबार र सोमवार गरी दुई दिनसम्म चलेको वार्तामा अफगानिस्तानको आर्थिक स्थायित्वका साथै मानव अधिकार तथा अवैध लागु पदार्थको तस्करी नियन्त्रण, तालिबान नेतृत्वमाथि लाग्दै आएको यात्रा प्रतिबन्ध तथा अफगानिस्तानको केन्द्रीय बैंकको अमेरिकामा रोक्का रहेको रकम फुकुवा गर्ने लगायतका विषयमा वार्ता भएको जनाइएको छ ।
तालिबानले सत्ता कब्जा गरेपछि अमेरिकाले उसको केन्द्रीय बैंकमा जम्मा गरिएको अफगानीस्तानको करिब सात अर्ब डलर जफत गरेको छ । अफगानी विदेश मन्त्रालयका प्रवक्ताले यात्रा तथा आर्थिक प्रतिबन्ध फुकुवा तथा अमेरिकी बैंकमा रहेको अफगानी रकम फिर्ता लगायतका दुवै पक्षबीच विश्वासको वातावरण बनाउने उपायका बारेमा छलफल भएको बताएका छन् ।
यता अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आफ्ना अधिकारीहरूले तालिबान समक्ष अफगानिस्तानमा खस्किँदो मानवअधिकारको स्थितिबारे चिन्ता व्यक्त गर्नुका साथै आर्थिक स्थायित्वका विषयमा प्राविधिक वार्ता जारी राख्न आफूहरू तयार रहेको बताएको जनाएको छ ।
दुई दिनसम्म चलेको उक्त वार्तामा अफगानिस्तानका लागि अमेरिकी विशेष दूत थोमस वेष्टका साथै अफगानी महिला, बालिका तथा मानवअधिकारसम्बन्धी विशेष दूत रिना अमिरी सहभागी रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
वार्तामा अमेरिकी अधिकारीहरूले बालिका शिक्षा तथा महिलाको रोजगारीमाथि लगाइएको प्रतिबन्ध फिर्ता लिन तथा तालिबानको नियन्त्रणमा रहेका अमेरिकी नागरिकलाई मुक्त गर्न आग्रह गरेका थिए । २० वर्षे युद्धपछि तालिबानसँग एकतर्फी सम्झौता गर्दै अमेरिकी र पश्चिमा सैनिक अफगानिस्तानबाट बाहिरिएपछि २०२१को अगस्ट १५ मा तालिबानले त्यहाँको सत्ता आफ्नो कब्जामा लिएको थियो ।
वि.सं.२०८० साउन १७ बुधवार ०७:५१




















