आज प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्री प्रचण्डले सांसदका प्रश्नको जवाफ दिने कार्यसूची
वि.सं.२०८० जेठ ४ बिहीवार ०९:२२
1.5K
shares
काठमाडौं: आज संघीय संसद अन्तर्गत प्रतिनिधि सभा बैठक बस्दैछ । आज बिहान ११ बजेदेखि सुरु हुने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने सम्भावित कार्यसूची रहेको छ ।
प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीले प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार प्रचण्डले बिहीबार सांसदसँग प्रश्नोत्तर गर्न लागेका हुन् ।
नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो साताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने भनिएको छ ।
नियमावली अनुसार सदस्यले आफ्नो स्थानमा उभिएर प्रश्न गर्ने र प्रधानमन्त्रीले तत्काल जवाफ दिनुपर्छ । प्रश्न गर्दा एक दिनको बैठकमा बढीमा १५ जना सदस्यले मात्र प्रश्न सोध्न पाउँछन् । बिहीबार सांसदले नक्कली भुटानी शरणार्थी प्रकरण, प्रधानमन्त्रीको भारत भ्रमण, नागरिकता र टीकापुर घटनामा केन्द्रित प्रश्न गर्दै छन् ।
संसदमा महिनाको पहिलो साता प्रश्नोत्तर राख्ने समझदारी गत आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको थियो । २०७९ मंसिर ४ मा भएको निर्वाचनपछि गठित प्रतिनिधिसभामा प्रधानमन्त्रीले जवाफ दिन लागेको यो पहिलोपटक हो ।
वि.सं.२०८० जेठ ४ बिहीवार ०९:२२



















