नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसभित्र तीव्र विवाद
वि.सं.२०८० जेठ ४ बिहीवार ०९:१०
1.6K
shares
काठमाडौं: नेपाली कांग्रेसमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका प्रभावशाली नेताको संलग्नता पुष्टि भएसँगै कांग्रेसभित्र विवाद उत्पन्न भएको छ ।
यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परिसकेका छन् भने पार्टीका पूर्वसभासद् आङ्टावा शेर्पा पनि हिरासतमा छन् । अन्य केही प्रभावशाली नेताको नाम पनि यो प्रकरणमा जोडिएको अडियो सार्वजनिक भएको छ । सो अडियोका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
अडियोमा सभापति शेरबहादुर देउवा पत्नी एवं कांग्रेस नेतृ आरजू देउवा र बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको नाम उल्लेख गरिएको छ । उनीहरु दुवै जना कांग्रेसका समानुपातिक सांसद पनि हुन् । खाँणमाथि अनुसन्धान जारी रहँदा अडियोमा नाम मुछिएका आरजू पनि अनुसन्धान हुने देखिन्छ ।
पार्टी सभापति देउवाले यो विषयमा छलफल गर्न बैठक समेत बोलाएका छैनन् भने प्रहरी नियन्त्रणमा रहेको खाँणलाई निलम्बन गर्ने संकेत पनि देखाएका छैनन् । निलम्बनका विषयमा पार्टी पदाधिकारीबीचमै विवाद देखिएपछि गत बिहीबार दोस्रो दिन बसेको पदाधिकारी बैठक पनि बिना निष्कर्ष टुंगिएको छ ।
पदाधिकारी बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अनुसन्धानमा सहयोग पुर्याउन र पार्टीको छवि जोगाउन खाँणलाई निलम्बन गर्नुपर्ने बताएका थिए । त्यसको चर्को प्रतिवाद गर्दै संस्थापन पक्षीय सहमहामन्त्री महेन्द्र यादवले खाँणलाई फसाउन खोजिएको दाबी गर्दै कुनैपनि हालतमा निलम्बन गर्न नहुने अडान लिएका थिए ।
खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा बैठकमा केहीछिन चर्काचर्की परेपछि महामन्त्री थापाले खाँण आफैँले अनुसन्धानका लागि सहयोग पुर्याउन जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुपर्ने विकल्प सुझाएका थिए ।
संस्थापन इतर पक्षले भने नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका कोही पनि उम्किन नहुने पक्षमा छन् । इतर पक्षले खाँणलाई निलम्बन गर्नुपर्ने माग गर्दै आएको छ । महामन्त्री गगन थापाले यो विषयमा विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेका छन् भने इतर पक्षले यो विषयलाई देशव्यापी अभियानका रुपमा लैजाने तयारी गरेको छ ।
महामन्त्री थापाको अभियानलाई उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य प्रदीप पौडेल लगायत इतर पक्षका नेताको साथ छ । इतर पक्षका नेताहरू मधु आचार्य, गोविन्द पोखरेल, गुरुराज घिमिरे लगायतको अर्को टोलीले पार्टी रूपान्तरणका लागि भन्दै अर्को अभियान थालिसकेका छन् ।
वि.सं.२०८० जेठ ४ बिहीवार ०९:१०



















