भिसा समस्याले नेपाली कामदार कतार जानबाट रोकिए
वि.सं.२०७९ असोज ३१ सोमवार ११:२८
3.9K
shares
काठमाडौं: भिसा समस्याले नेपाली कामदार कतार जानबाट रोकिएका छन् । विश्वकप फुटबल लक्षित कामका लागि नेपाली श्रमिकलाई कतार पठाउने सरकारले निर्णय गरेको थियो ।
तर, भिसा समस्याका कारण पूर्व श्रम स्वीकृति लिएर पनि जान पाएका छैनन् । कतार विश्वकपका लागि भनेर तीन महिनादेखि ६ महिनासम्मका लागि नेपाली कामदार पठाउने निर्णय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको थियो । सोही आधारमा श्रम कार्यालयमार्फत दुई हजारको हाराहारीमा पूर्वस्वीकृति लिएका थिए । उनीहरू मध्ये करिव १५० जना मात्रै कतार जान पाएको वैदेशिक रोजगार कार्यालय ताहाचलले जनाएको छ ।
नेपालको कानुन अनुसार वैदेशिक रोजगारीमा जानको लागि १ वर्षभन्दा कम अवधिका लागि श्रम स्वीकृति दिन मिल्दैन । श्रम मन्त्रालयले विशेष निर्णय गरेर नेपाली श्रमिक पठाएर कतारलाई सहयोग गर्ने निर्णय गरेको थियो । तर, भिसा समस्याका कारण पूर्व श्रम स्वीकृति लिएका कामदारहरू रोकिएका हुन् ।
‘हाया’ भिसामार्फत विश्वकप हेर्न नेपालीहरू कतार जाने भएका छन् । ‘हाया’ भनेको विश्वकप हेर्न जानका लागि प्रवेषज्ञा हो । जुन भिसा विशुद्ध विश्वकप फुटबल हेर्नको लागि मात्र हो । सरकारले सोही भिसा मार्फत श्रमिकलाई पनि पठाउने भनेको थियो । तर, त्यसबाट कामदारको रूपमा जान नसकिने भएपछि उनीहरू रोकिएको वैदेशिक रोजगार कार्यालयले बताएको छ ।
जनवरी २०२१ मा नेपाल र कतार सरकारको संयन्त्र ज्वाइन्ट कमिटीको छैठौं बैठक काठमाडौंमा बसेको थियो । उक्त बैठकले विभिन्न निर्णय गरेको थियो । सोही बैठकले नेपालबाट विश्वकप लक्षित सिजनल कामदार पठाउने निर्णयसमेत गरेको थियो । त्यसका लागि कानूनी व्यवस्था नभएपनि नेपालले निर्णय नै गरेर कामदार सिजनल वर्करको रूपमा पठाउने भनेको थियो ।
वि.सं.२०७९ असोज ३१ सोमवार ११:२८




















