अर्थको असहयोगले गर्दा संसदीय समितिलाई सिसिटिभी फुटेज जुटाउन असफल, कर्मचारीलाई पुर्वमन्त्रीको धम्की
वि.सं.२०७९ साउन २ सोमवार ०९:४८
4K
shares
काठमाडौं: बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रयोग गरेको आरोपमा पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय समितिलाई अर्थ मन्त्रालयका अधिकारीहरुले सहयोग नगर्दा सिसिटिभी फुटेज जुटाउन असफल देखिएको छ । फुटेज प्राप्त नहुँदा समितिको काम नै प्रभावित हुन पुगेको छ ।
आइतबार बसेको समितिको बैठकमा सिसिटिभी फुटेज हेर्ने व्यक्ति बोलाइए पनि फुटेज प्राप्त नभएको बैठकमा सहभागी एक सांसदले बताएका छन् ।
समितिले अनुसार अर्थ मन्त्रालयका सचिव, राजश्व सचिव, बजेट महाशाखा प्रमुख, प्रशासन महाशाखा प्रमुख, आईटी इन्जिनियर लगायतका अधिकारीहरुसँग सोधपुछ गरिसकेको छ । तर अहिलेसम्म कसैले पनि बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे मुख खोल्न मानेका छैनन् ।
करको दर हेरफेरमा अनाधिकृत व्यक्तिको संलग्नताबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले अर्थ मन्त्रालयबाट सीसीटीभी फुटेज मगायो तर खोजेको चिज भेटाउन सकेको छैन ।
बजेट निर्माणमा संलग्न अधिकारीहरुलाई बोलाएर बयान लिएपनि अहिलेसम्म न खोजेको सीसीटीभी फुटेज भेटेको छ, न बयान दिनेहरुले अनधिकृत व्यक्तिको संलग्नता स्वीकार गरेका छन् ।
अर्थ मन्त्रालय उच्च श्रोतका अनुसार अहिले पनि पुर्व अर्थमन्त्री शर्माले आफुले क्लिन चिट पाई फेरि अर्थमन्त्रीमै फर्किन्छु भन्दै कर्मचारीहरुलाई धम्की दिईरहेका कारण कोहि बोल्न सकेका छैनन ।
आर्थिक वर्ष २०७९/८० को बजेटका क्रममा अर्थमन्त्री जनार्दन शर्माले करको दर हेरफेरका लागि अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेका साथै सत्तारुढ दलहरुबाटै यसबारे प्रश्न उठेपछि संसदले २२ असारमा संसदीय विशेष समिति बनाएको थियो भने शर्माले पनि त्यही दिन अर्थमन्त्रीबाट राजीनामा दिएका छ्न ।
वि.सं.२०७९ साउन २ सोमवार ०९:४८



















