बढ्दो तापक्रमले देशभरको जनजीवन प्रभावित
वि.सं.२०७६ असार २ सोमवार ०८:१२
1.3K
sharesकाठमाडौं: केही दिनदेखि बढिरहेको तापक्रमले तरार्इका जिल्लामा जनजीवन निकै कष्टकर बनेको छ । रुपन्देहीको भैरहवामा शनिबार बर्षकै सबै भन्दा बढी ४३ दशमलव ४ डिग्री मापन गरिएको थियो । तापक्रममा वृद्धिसँगै हावा पनि तातो चल्न थालेपछि बजार, शिक्षण संस्था, सरकारी कामकाज समेत प्रभावित भएको छ । स्थानीय अस्पतालमा विरामीको चाप बढिरहेको छ ।
पूर्वको झापामा पनि तापक्रम ४० डिग्रीसम्म पुगेको छ । दैनिक ज्याला मजदुरी गर्ने र हिँडडुल गर्नेहरुलाई पनि गर्मीले समस्या भएको छ । उता, दाङमा पनि दुईदिन यताको तापक्रम ३९.९ डिग्री सेलसियस मापन गरिएको छ । गर्मीकै कारण रोगको सङ्क्रमण बढेपछि उपचारका लागि अस्पतालमा आउने बिरामीको संख्या बढेको छ । गत वर्षको तुलनामा यस वर्ष गर्मि अत्यधिक रेकर्ड गरिएको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय दाङले जनाएको छ ।
यस्तै, तापक्रम ४२ डिग्रीसम्म पुगेपछि सर्लाहीको लालबन्दी, हरिवन, बागमती सहित मलंगवाको जनजिवन नराम्रो सगँ प्रभावित बनेको छ । गर्मी बढेसगैँ सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरिएको छ । सप्तरीमा पनि अत्याधिक गर्मीका कारण जनजीवन कष्टकर बनेको छ । सदरमुकाम राजविराजमा केहि दिन यता तापक्रम ४० देखी ४३ सम्म पुगेपछि जनजीवन अस्तव्यत बनेको हो । अत्यधिक गर्मी बजार, कार्यालय र विद्यालय सबैमा चहल पहल घटेको छ । गर्मीकै कारण केही दिन यता घाउ खटीरा, टाइफाइड ज्वरो, झाडापाखाला लगायत रोगका विरामीको चाप ह्वातै बढेको गजेन्द्रनारायण सिंह अस्पतालले जनाएको छ ।
यस्तै, जनकपुरधाममा ४२ डिग्री सेल्सियस सम्मको तापक्रमले जीवन कष्टकर तुल्याएको छ । सडकहरु सुनसान देखिन्छन् भने अस्पतालमा चाप बढेको छ । चर्को घामसँगै तातो हावा चल्न थालेपछि वीरगञ्जमा पनि जीवन कठिन बनेको छ । वीरगञ्जको तापक्रम ४२ देखि ४४ डिग्रीसम्म छ । गर्मीले कठिन भएपछि जिल्लाका स्थानीय तहले असार १ देखि ६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
वि.सं.२०७६ असार २ सोमवार ०८:१२