नेकपा माओवादी केन्द्रीय समिति बैठक बस्दै
वि.सं.२०७८ फागुन २२ आइतवार १०:०४
2.8K
shares
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।
शुक्रबारदेखि सुरु केन्द्रीय समितिको बैठकको निरन्तरतास्वरूप बैठक आज पुनः बस्ने भएको हो ।
बैठक पहिलो दिन शुक्रबार राष्ट्रिय सभागृहमा बसेको भएपनि आज बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बिहान ११ बजेदेखि बस्नेछ ।
आजको बैठकमा पनि एमसीसीका विषयमा छलफल हुनेछ । साथै केन्द्रीय सदस्य मनोनयन र पदाधिकारी चयन पनि बैठकको एजेन्डा रहेको बुझिएको छ ।
गत पुस १८ गते भएको आठौं महाधिवेशनले माओवादी केन्द्रको २४७ जना केन्द्रीय सदस्य चयन गरेको थियो । भोलिपल्ट १९ गतेको केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष चयन गरेको थियो । तर अन्य पदाधिकारी अहिलेसम्म चयन गर्न सकेको छैन ।
आजको बैठकबाट केन्द्रीय समितिलाई पनि पूर्णता दिने तयारी माओवादी केन्द्रले गरेको हो । २९९ सदस्यीय केन्द्रीय समितिमा महाधिवेशनले २४७ जना मात्र चयन गरेको छ। अब २९९ को १० प्रतिशत हेडक्वार्टरले मनोनयन गर्ने व्यवस्था छ । त्यस्तै २९९ को १५ प्रतिशत केन्द्रीय समितिले मनोनयन गर्नेछ ।
पदाधिकारीमा एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष चयन गर्न बाँकी छ ।
वि.सं.२०७८ फागुन २२ आइतवार १०:०४




















