अध्यागमन विभागको अनुरोध: अत्यावश्यक अवस्था बाहेक काम बिना विदेश भ्रमण नगर्नु
वि.सं.२०७८ पुस २९ बिहीवार १६:०७
1.9K
shares
काठमाडौं: कोरोना भाइरसको नयाँ भेरियन्ट भएका मुलुकमा नेपालबाट यात्रा गर्ने योजना बनाएका व्यक्तिलाई अध्यागमन विभागले अत्यावश्यक अवस्था बाहेक यात्रा नगर्न अनुरोध गरेको छ ।
विभागले सरकारको निर्णयानुसार कोभिड-१९ को संक्रमण विभिन्न मुलुकमा फैलिरहेका सन्दर्भमा त्यसको रोकथाम गर्ने उद्देश्यले सूचना जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि सचेत हुने अनुरोध गरेको हो ।
ओमिक्रोन देखिएका मुलुक (दक्षिण अफ्रिका, वोत्स्वाना, जिम्बाब्बे, नामिविया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक, मलावी, र हङकङ)बाट आउने वा ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने यात्रुलाई मङ्सिर १६ देखि नेपाल प्रवेशमा रोक लगाइएको निर्णयलाई यथावत् राखिएको पनि विभागले जनाएको छ ।
विभागले तोकिएका ती नौ देश र अन्य कोरोनाको उच्च जोखिम भएका मुलुकबाट नेपाल आउने नेपाली नागरिक, कूटनीतिक तथा अफिसियल पासपोर्टबाहेक वा आवासीय भिसा प्राप्त गरेका विदेशी नागरिकको हकमा पनि विशेष व्यवस्था गरेको छ ।
पूर्ण खोप लगाएको १४ दिन पुगेको, बोडिङ पास जारी हुनुभन्दा ७२ घण्टा अगाडिको पिसिआर रिपोर्ट नेगेटिभ भएका नेपाली नागरिक र अन्यको हकमा कोभिड-१९सँग मिल्दोजुल्दो लक्षण नदेखिएका अवस्थामा घरमै १० दिन क्वारेन्टिनमा बस्नेगरी अनुमति दिने विभागले जनाएको छ ।
विभागका निर्देशक प्रकाशचन्द्र अधिकारीद्वारा जारी विज्ञप्तिमा खोपको मात्रा पूरा नभएका वा खोपको मात्रा पूरा गरी १४ दिन नपुगेका नेपाली नागरिकको प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएमा संस्थागत आइसोलसनमा पठाइने र रिपोर्ट नेगेटिभ देखिएमा भने घरमै १० दिन क्वारेन्टिनमा बस्ने गरी प्रवेश अनुमति दिइनेछ ।
यस्तै खोपको मात्रा पूरा नगरेका वा खोप लगाएको १४ दिन नपुगेका कूटनीतिक, अफिसियल पासपोर्टबाहेक तथा आवासीय भिसा प्राप्त गरेका विदेशीको हकमा प्रवेश बिन्दुमा एन्टिजेन परीक्षणमा रिपोर्ट पोजेटिभ आएमा संस्थागत आइसोलेशन वा कूटनीतिक नियोगको जिम्मेवारीमा होम आइसोलेशनमा पठाउने र परीक्षण रिपोर्ट नेगेटिभ आएमा १० दिन होटल वा कूटनीतिक नियोगको जिम्मेवारीमा होम क्वारेन्टिनमा बस्नेगरी प्रवेश अनुमति दिने जनाइएको छ ।
उक्त व्यवस्थाबाहेकको हकमा भने विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको व्यवस्थापन सम्बन्धी आदेश २०८७ को आधारमा विभागबाट गएको असोज ८ गते जारी भएको सूचनाबमोजिम हुने जनाइएको छ ।
ओमिक्रोन भेरियन्ट देखिएका मुलुकबाट आएका यात्रुको हकमा मात्रै क्वारेन्टिन र आइसोलेशनको व्यवस्था लागू हुने विभागले स्पष्ट पारेको छ ।
वि.सं.२०७८ पुस २९ बिहीवार १६:०७



















