नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशन अन्तर्गत बन्दसत्र आज ११ बजेबाट सुरु हुँदै
वि.सं.२०७८ पुस १२ सोमवार ०९:४६
2.6K
shares
काठमाडौं: नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशनको उद्घाटन आइतबार काठमाडौंमा सम्पन्न भएसँगै बन्दसत्र आज सुरु हुने भएको छ ।
उद्घाटनसत्र सकिएसँगै आज विहान ११ बजेबाट बन्दसत्रको कार्यक्रम सुरु हुने माओवादी केन्द्रले जनाएको छ ।
१६ बढी प्रतिनिधिहरु बन्दसत्रमा सहभागी हुनेछन् । माओवादी यस महाधिवेशनलाई विचारको महाधिवेशन भनेको छ ।
राष्ट्रिय सम्मेलन भनिरहेको नेकपा माओवादी केन्द्रले एकाएक सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो ।
शनिबार मात्रै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही नेतासँग सल्लाह गरेपछि सबै प्रक्रिया पूरा भएकाले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरिएको हो ।
पाँच वर्षमा केन्द्रीय समितिको नयाँ निर्वाचन गर्नुपर्ने कानुनी एवं संवैधानिक प्रावधान छ । वि सं २०७३ मा तत्कालीन नेकपा (एमाले)सँग एकता भएकाले महाधिवेशन लगायत नियमित प्रक्रिया अगाडि बढेको थिएन ।
गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र छुट्टाछट्टै दलका रूपमा विभक्त भएका थिए ।
गत साउनमा बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको थियो । माओवादीको विधान अनुसार सम्मेलनले गरेका सबै कुरा महाधिवेशनले अनुमोदन गर्नुपर्ने व्यवस्था छ ।
पाँच दिनसम्म चल्ने महाधिवेशनमा शान्ति प्रक्रियायताको माओवादीबारे आत्मसमीक्षा हुने नेताहरूले बताएका छन् ।
माओवादीले महाधिवेशनबाट क्रान्तिकारी नयाँ विचार र क्रान्तिकारी पार्टी निर्माण गर्ने दाबी गरेको छ ।
१३ पुससम्म चल्ने भनिएको सम्मेलनलाई ८औं महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय माओवादीले गरिसकेको छ ।
देव गुरुङको संयोजकत्वमा रहेको अन्तरिम विधान संशोधन उपसमितिले उपाध्यक्षसहितका पदमा दुई वा सोभन्दा बढी नेता चयन गर्ने प्रस्तावसमेत गरेको छ ।
गुरुङको कमिटीले हाल कायम रहेको १७९ केन्द्रीय कमिटीमा १२० जना थप गरेर नयाँ संरचनामा जान प्रस्ताव गरेको छ ।
२९९ केन्द्रीय कमिटी हुने र अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षसहित १५ जना पदाधिकारी रहने गरी प्रस्तावित विधान बनाएको जनाइएको छ ।
यो विधान आइतबार सम्मेलनबाट पारित गरिने भएको छ। माओवादीले विधान संशोधन गरेसँगै पदाधिकारी चयन पनि पेचिलो बन्ने देखिन्छ ।
मूल नेतृत्वमा करिब ३० वर्षदेखि रहेका पुष्पकमल दाहाल प्रचण्डको विकल्प देखिएको छैन । यसकारण अध्यक्षमा प्रचण्ड नै दोहोरिने निश्चित छ । अन्य पदाधिकारीका लागि भने आकांक्षीहरूको सूची लामै छ ।
स्थायी कमिटीमा रहनुभएका जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेललगायतले महासचिव पदमा दाबी गरेका छन् ।
उपाध्यक्षका लागि दाबी गरेका कृष्णबहादुर महरा, देव गुरुङ, देवेन्द्र पौडेल, शक्ति बस्नेतलगायत नेताहरूको व्यवस्थापन पनि प्रचण्डका लागि सजिलो छैन ।
वि.सं.२०७८ पुस १२ सोमवार ०९:४६



















