किराँत समुदायको महान् पर्व उधौली पर्व मनाईदै
वि.सं.२०७७ पुस १५ बुधवार ०९:१७
3.1K
shares
काठमाडौं: किराँत समुदायको महान् पर्व उधौली पर्व आज धुमधामका साथ मनाईदै छ ।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको स्याँदर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ ।
किरात समुदायले आफुले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले स्याँदर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम भन्छन् ।
बाली लगाउने बेलामा भने किराँत जातिमा उभौँली अर्थात् यावा पर्व मनाइने प्रचलन छ ।
भूमि पूजाका लागि बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेषभूषामा सजिएर च्याब्रङ बाजाको तालमा धान नाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् । पर्व र रीतिरिवाज एउटै भए पनि आ–आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ ।
ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थल मानिन्छ । किराँतको ऐतिहासिक पवित्र धार्मिकस्थल सानो हात्तीवनमा आज किराँत चाड विशेषरुपमा मनाइन्छ ।
पूजापछि आ–आफ्नो परम्परा अनुसार चण्डीनाच, च्याब्रङनाच, ढोल नाच लगायतका नाच नाचेर मनोरञ्जन गर्छन् ।
पर्व मनाउन त्यहाँ भेला भएका किराँतले आफ्नो परम्परगत सांस्कृतिक कार्यक्रम र विभिन्न खेलकूद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ ।
वैशाख पूर्णिमामा उभौली पूजा गरेका किराँतले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् ।
उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रुपमा मनाउने गरिन्छ ।
पितृको मान र प्रकृतिको सम्मानका रुपमा दुवै पर्वलाई किराँतले मनाउँछन् ।
वि.सं.२०७७ पुस १५ बुधवार ०९:१७




















