आज कुशे औँशी पर्व, बुबाको मुख हेरेर मनाइँदै
वि.सं.२०७७ भदौ ३ बुधवार ०८:२३
1.6K
shares
काठमाडौं: आज कुशे औँशी पर्व वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।
यसै अवसरमा छोराछोरीहरूले परम्परा अनुसार आ–आफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।
विधि अनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहि आएको छ ।
आजको दिन विशेष गरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ। यसैले आजको औँशीलाई गोकर्णे औँशीका नामले पनि चिनिन्छ ।
यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्ने गरेपनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले मन्दिर क्षेत्र पूर्ण रुपमा सिल गरिएको छ ।
वि.सं.२०७७ भदौ ३ बुधवार ०८:२३




















