नेकपा सचिवालय बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै, प्रधानमन्त्रीको राजीनामाका विषयमा बैठक केन्द्रित
वि.सं.२०७७ वैशाख २० शनिवार १०:१६
2K
shares
काठमाडौं: नेकपा सचिवालय बैठक आज साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । १७ वैशाखमा स्थगित भएको बैठक आज बेलुका ४ बजेका लागि बोलाइएको हो । सचिवालय बैठकका विषयमा छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार र वरिष्ठ नेता माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।
नेपाल निवासमा भएको छलफलमा प्रचण्ड–नेपाल समूहका नेताहरुले प्रधानमन्त्री ओलीको तत्काल राजीनामा माग्ने निष्कर्ष निकालेका थिए । प्रधानमन्त्रीले राजीनामा दिए आपसी सल्लाहमा प्रधानमन्त्री चयन गर्ने निर्णय भएको स्रोतले बताएको छ । यसअघि बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायत नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए ।
प्रतिउत्तरमा ओलीले आफूले कोरोना भाईरस संक्रमण कम भएलगत्तै गौतमलाई प्रधानमन्त्री र नेपाललाई पार्टी अध्यक्ष छाड्ने वचन दिएका थिए । प्रधानमन्त्रीको राजीनामाका विषयमा ओली समूह र नेपाल–प्रचण्ड समूहबीच विवाद देखिने भएकाले आजको सचिवालय बैठकलाई चासोपूर्ण रुपमा हेरिएको छ ।
वि.सं.२०७७ वैशाख २० शनिवार १०:१६



















