कोरोनाबाट मृत्यु हुनेको संख्या ९६ हजार नजिक, अमेरिकामा १६ हजार नाघ्यो, भारतमा २ सय २७ पुग्यो
वि.सं.२०७६ चैत २८ शुक्रवार ०९:१४
1.7K
shares
काठमाडौं: विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वमा झण्डै ९६ हजार व्यक्तिको मृत्यु भएको छ । संक्रमित हुनेको संख्या पनि १६ लाख नाघेको छ । बितेको २४ घण्टामा सात हजार १ सय ९७ जनाको मृत्यु भएको हो । १६ लाखभन्दा बढी कोरोनाबाट संक्रमित भएकामा तीन लाख ५६ हजारभन्दा बढी मानिस निको भएर घर फर्किएका छन् भने करिब ४९ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।
अमेरिकामा मृत्यु हुनेको संख्या १६ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा अहिलेसम्म भाइरसबाट मृत्यु हुनेको संख्या १६ हजार पाँच सय १३ पुगेको हो । बिहीबार अमेरिकामा एकैदिन एक हजार नौ सयभन्दा धेरैको मृत्यु भएको छ । यससँगै अमेरिका विश्वभर यो भाइरसको कारण धेरै मानिसको मृत्यु हुने मुलुकको सूचीमा दोस्रो स्थानमा उक्लिएको छ ।
अमेरिकामा संक्रमितको संख्या पनि चार लाख ६२ हजार नाघेको छ । अमेरिकामा बिहीबार मात्र ३० हजारभन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् । अहिलेसम्म अमेरिकामा २५ हजार चार सयभन्दा धेरै संक्रमित निको भएका छन् । मृत्यु हुनेमा अहिलेसम्म सबैभन्दा बढी इटालीमा १८ हजार २ सयभन्दा धेरै छन् भने स्पेनमा १५ हजार ४ सय नाघेको छ । स्पेनमा संक्रमित हुनेको संख्या १ लाख ५३ हजार नाघ्दा इटालीमा संक्रमितको संख्या १ लाख ४३ हजार नाघेको छ ।
फ्रान्समा मृतकको संख्या १२ हजार २ सय नाघेको छ । बेलायतमा करिब ८ हजारको मृत्यु भएको छ । इरानमा मृतकको संख्या ४१ सय नाघ्दा चीनमा यो संख्या ३३ सय ३६ छ । जर्मनीमा मृत्यु हुनेको संख्या २६ सय नाघ्दा बेल्जियममा २ हजार ५ सय २३, नेदरल्याण्डस्मा करिब २ हजार ४ सय छ ।
यसैबीच भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ सय २७ पुगेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार भारतमा भाइरसबाट संक्रमित हुने मानिसको समग्र संख्या ६ हजार ७ सय २५ पुगेको छ । भाइरस संक्रमणबाट पछिल्लो केही दिनयता भारतमा बढ्दो क्रममा छ । अहिलेसम्म भारतका २८ राज्यमा यो भाइरसका संक्रमित देखिएका छन् ।
वि.सं.२०७६ चैत २८ शुक्रवार ०९:१४



















