अमेरिकी राष्ट्रपति ट्रम्प दुई दिने राजकीय भ्रमणका लागि आज भारत आउँदै
वि.सं.२०७६ फागुन १२ सोमवार ०८:५४
1.1K
shares
एजेन्सीः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पत्नी मेलिनियाका साथ दुई दिने राजकीय भ्रमणका लागि आज भारत आउँदैछन् । भ्रमणका लागि राष्ट्रपति ट्रम्प अमेरिकाबाट भारत प्रस्थान गरिसकेका छन । उनी विहान ११ बजेर ४० मिनेटमा नयाँ दिल्ली आइपुग्नेछन् । ट्रम्पको स्वागतका लागि भारत सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ । भ्रमण कार्यतालिका अनुसार ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदी आजै मोदीको गृहनगर गुजरात पुग्नेछन् ।
अहमदावादको सबैभन्दा ठूलो क्रिकेट स्टेडियम मोटेरा स्टेडियममा डिजाइन गरिएको ‘नमस्ते ट्रम्प’ कार्यक्रममा उनी सहभागी हुनेछन् । यद्यपि भारतीय सञ्चारमाध्यमका अनुसार ‘नमस्ते ट्रम्प’ कार्यक्रममा सहभागी हुनुअघि मोदीले ट्रम्पलाई सावरमती आश्रममा स्वागत गर्नेछन् । सावरमती आश्रममा भेट गरेपछि नमस्ते ट्रम्प कार्यक्रममा सहभागी हुनेछन् । नमस्ते ट्रम्पको अवधारणा गत वर्षको जुनमा मोदीले अमेरिका भ्रमण गर्दा टेक्सासमा आयोजना गरिएको ‘हाउडी मोदी’ कार्यक्रमको जस्तै रहेको पनि विदेश मन्त्रालयले उल्लेख गरेको छ । भ्रमणको दोस्रो दिन मंगलबार ट्रम्प दिल्ली आउनेछन् ।
भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाका अनुसार मंगलबार हैदरावाद हाउसमा मोदी र ट्रम्पबीच प्रतिनिधिमण्डलबीच रक्षा र व्यापार लगायतका मुद्दामा व्यापक छलफल हुनेछ । सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारत भ्रमणमा आउन लागेका ट्रम्प अमेरिकाका सातौं राष्ट्रपति हुन् । यसअघि पछिल्लो पटक तात्कालीन राष्ट्रपति बाराक ओवामाले २०१५ जनवरी २५-२७ मा तीन दिने भारत भ्रमण गरेका थिए । ओवामा आफ्नो दुवै कार्यकालमा भारत आएका थिए ।
वि.सं.२०७६ फागुन १२ सोमवार ०८:५४



















