अमेरिकामा आएको शाक्तिशाली आँधीका कारण कम्तीमा १२ जनाको मृत्यु
वि.सं.२०७६ पुस २८ सोमवार ०८:५९
1.8K
shares
एजेन्सीः अमेरिकाको दक्षिणी क्षेत्रमा आएको शाक्तिशाली आँधीका कारण कम्तीमा १२ जनाको मृत्यु भएको छ । आँधीसँगै कडा हावाहुरी र बाढी पनि आएकाले मानवीय क्षति भएको अधिकारीहरूले जानकारी दिएका छन् । घटनामा परी मृत्यु भएका मध्ये एकजना प्रहरी र एकजना उद्धारकर्तासमेत रहेका जनाइएको छ ।
त्यसैगरी, ओक्लाहोमामा पनि बाढी र वर्षासँगै आँधी आएको थियो । त्यस क्षेत्रमा खटिएको गस्ती टोलीले दिएको जानकारी अनुसार आँधीका कारण सवारी साधनहरू बाटोमै रोकिएका थिए । आँधीपछि टेक्सासदेखि ओहियोसम्मका हजारौ घरहरूमा विद्युत सेवा अवरुद्ध भएकाले लाखौँ मानिसहरू विद्युत सेवाविहीन अवस्थामा रहेका छन् । त्यसैगरी, कतिपय राजमार्गहरू बन्द भएका छन् ।
विषेश गरेर ओक्लाहोमा र अर्कान्सासमा बाढी आएकाले बाटो बन्द भएका हुन् । त्यसैगरी सिकागोका दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने १२ सयभन्दा बढी उडान सेवा स्थगित भएको अधिकारीहरूले जनाएका छन् । विमानस्थलका अधिकारीहरूका अनुसार ओहारे अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै ९ सय ५० भन्दा बढी उडान स्थगित भएका हुन् ।
वि.सं.२०७६ पुस २८ सोमवार ०८:५९



















