कोरोना भाइरस महामारीको उच्च संक्रमण दर भएका देशमा भारत विश्वमै चौथो स्थानमा देखियो
वि.सं.२०७७ जेठ ११ आइतवार ०९:३५
1.3K
shares
एजेन्सीः कोरोना भाइरसको पछिल्लो संक्रमण दरको तुलना गर्दा उच्च संक्रमण दर भएका देशमा भारत विश्वमै चौथो स्थानमा देखिएको छ । भारतमा शनिबार संक्रमणबाट १ सय ४२ जनाले ज्यान गुमाएका छन् भने ६ हजार ६ सय २९ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ अहिलेसम्म संक्रमितको संख्या १ लाख ३१ हजार ४ सय २३ पुगेको छ भने ३ हजार ८ सय ६८ जनाले ज्यान गुमाएका छन् ।
वर्ल्डओमिटरका अनुसार गएको २४ घण्टामा विश्वभर ९९ हजार ६ सय ८६ नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै अमेरिकामा २१ हजार ७ सय ५७ जना संक्रमित भएका छन् भने ब्राजिलमा १६ हजार ५ सय ६, रुसमा ९ हजार ४ सय ३४ र भएका छन् । कोरोनाले आक्रान्त इटाली, स्पेन, बेलायत, फ्रान्स, जर्मनी जस्ता मुलुकमा भन्दा पनि पछिल्लो समय भारतमा संक्रमण दर तीब्र बन्दै गएको छ ।
त्यसैगरी गएको २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा १ हजार २६ जनाले ज्यान गुमाएका छन् । ब्राजिलमा ९ सय ६५, मेक्सिकोमा ४ सय ७९, बेलायतमा २ सय ८२, रुसमा १ सय ३९, इटालीमा १ सय १९, पेरुमा १ सय २९, क्यानाडामा १ सय ५ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । अहिलेसम्म विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ४३ हजार ९ सय ८२ पुगेको छ भने संक्रमितको संख्या ५४ लाख ४ हजार ६ सय ४८ पुगेको छ ।
वि.सं.२०७७ जेठ ११ आइतवार ०९:३५



















