पाकिस्तानको कराँचीमा यात्रुवाहक विमान दुर्घटना
वि.सं.२०७७ जेठ ९ शुक्रवार १६:५१
1.9K
shares
एजेन्सी: पाकिस्तानको कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त बनेको छ । पाकिस्तान इन्टरन्याश्नल एअरलाइन्सको उक्त विमान लाहोरबाट आएको र कराची विमानस्थलनजिकै दुर्घटनामा परेको बीबीसी उर्दूले जनाएको छ ।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार राष्ट्रिय ध्वजावाहक पीआईएको विमान अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । ए-३२० मोडेलको सो विमानमा ९० जना यात्रु रहेको पीआईएका प्रवक्ता अब्दुल सत्तारले बताएको डनले लेखेको छ । सो विमान दुर्घटनामा परेपछि धुँवाको मुस्लो देखिएको भिडिओ पाकिस्तानी टिभीले प्रसारण गरेका छन् ।
दुर्घटनास्थल मानवबस्तीनजिकै भएको बताइएको छ । पाकिस्तानी नागरिक उड्डयन निकायले दुर्घटनाको पुष्टि गरेपनि जनधनको क्षतिको बारेमा बताएको छैन । पाकिस्तानमा कोरोनाभाइरस महामारीका कारण अवरुद्ध आन्तरिक वायुसेवा दुई महिनापछि हालै सञ्चालनमा आएको थियो ।
वि.सं.२०७७ जेठ ९ शुक्रवार १६:५१



















